काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उड्नका लागि धावनमार्ग पुगिसकेको एयर इण्डियाको जहाजमा समस्या आएको छ ।
जहाजमा समस्या आएर रोक्किएपछि अन्य उडानहरु समेत प्रभावित भएको छ । एक सय ८९ जना यात्रुसहित दिउसो नयाँ दिल्ली जान लागेको एयर इण्डियाको जहाजको ब्रेकमा समस्या देखिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
प्राविधिक समस्या देखिएपछि उक्त जहाजलाई तानेर पार्किङस्थलमा ल्याएर चेकजाँचको काम भइरहेको छ भने अन्य उडान र अवतरणहरु सुचारु भएका छन् । एयर इण्डियाको कारण आधा घण्टाभन्दा बढी आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु प्रभावित भएका थिए ।