बजारको माग अनुसार सुनको कोटा बढाउन तयार छौंः मन्त्री रिजाल

Advertisement

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले बजारको माग अनुसार सुनको कोटा बढाउन सरकार तयार रहेको बताएका छन् । 

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा बुधबार उनकै कार्यकक्षमा गएको महासंघको प्रतिनिधि मण्डलसँगको भेटका क्रममा मन्त्री रिजालले मुलुकको अर्थतन्त्र र भुक्तानी सन्तुलनको स्थिति समेत अहिले सकारात्मक रहेकोले विद्यमान आपूर्ति कोटामा वृद्धि गर्न कुनै कठिनाई नभएको बताए । 

Advertisement

सुनचाँदी ब्यवसायमा आवद्ध ब्यवसायीहरु सुनचाँदी ब्यवसायको ब्यवस्थापनका लागि विगत देखि नै उठाउँदै आएको यस सम्वन्धी बिधेयकको मस्यौदाका बिषयमा पनि उनले आपसी छलफलवाट त्यसलाई निश्कर्षमा पुर्याउन सकिने बताए । 

ब्यवसाय सञ्चालन गर्ने प्रष्ट ऐनको अभावमा लामो समयदेखि रुमल्लिँदै आएका ब्यवसायीहरुले विभिन्न सरकारी निकायसँगको समन्वय र सहकार्यमा यो तयारी शुरु गरिरहेका वेला मन्त्री रिजालले त्यस बिषयमा छलफल गरेर अगाडि बढ्ने धारणा ब्यक्त गरेका हुन् ।

मन्त्री रिजालसँगको भेटका क्रममा महासंघका अध्यक्ष माणिकरत्न शाक्यले ब्यवसाय सञ्चालन सम्वन्धी ऐनको अभावमा धेरै किसिमका समस्या आएको उल्लेख गर्दै सरोकारवाला सवै पक्षलाई फाइदा पुग्नेगरी ऐन ल्याउन आवश्यक भएको बताए । त्यसका लागि सहयोग गर्न ब्यवसायीहरु तयार रहेको उनको भनाई छ ।

छलफलका क्रममा सहभागी विभिन्न क्षेत्रका ब्यक्तिहरुले सुनचाँदी ब्यवसायको ब्यवस्थापन गर्ने बिधेयक र त्यसमा समेटिनुपर्ने बिषयवस्तुको बारेमा मन्त्री रिजालको ध्यानाकर्षण गराएका थिए । साथै उनीहरुले कच्चा पदार्थको अभावमा ब्यवसायीले धेरै अप्ठ्यारो झेल्नु परेको उल्लेख गर्दै तत्काल सुनको आयातमा विद्यमान कोटा वृद्धि गर्न माग गरे । 

भेटका क्रममा महासंघका तर्फवाट अध्यक्ष शाक्य, बिशिष्ट सदस्य मणिरत्न शाक्य, उपाध्यक्ष महेन्द्ररत्न शाक्य, केन्द्रिय सदस्य निरज सर्राफ र मधेश प्रदेशका महासचिव परवेज सर्राफ लगायतको उपस्थिति रहेको थियो । 
 

Advertisement

Advertisement