पर्यटन क्षेत्रलाई सरकारले प्राथमिकतामा नराखेको व्यवसायीहरुको निश्कर्ष

Advertisement

काठमाडौं । होटल संघ नेपालका अध्यक्ष विनायक शाहको अध्यक्षतामा आज पर्यटनसँग सम्बन्धित विभिन्न संघ संस्थाहरुको संयुक्त बैठक सम्पन्न भएको छ । उक्त वैठकमा कोभिडबाट धरासायी भएको पर्यटन उद्योगको सम्वर्द्धन र प्रवद्र्धनमा सरोकारवालाहरुबाट चालिनुपर्ने कदमका साथै संघीय पर्यटन ऐन संशोधन र अद्यावधिकीकरणमा व्यवसाय तथा लगानीमैत्री नीतिहरु समावेश हुनुपर्नेमा विशेष जोड दिइएको छ । 

कोभिडको समयमा एक वर्ष पर्यटन क्षेत्रलाई उद्योगमा वर्गिकरण गरएकोमा त्यसपश्चात पर्यटन क्षेत्रलाई सरकारले प्राथमिकतामा नराखेको प्रति संयुक्त वैठकको ध्यानाकर्षण भएको छ । नेपाल सरकारका प्रतिनिधिहरुले चालू आर्थिक वर्षको बजेट तथा मौद्रिक नीतिले पर्यटक संख्या बढेको जनाउँदै आर्थिक गतिविधि समेत बढेको जनाए पनि निरन्तर थपिँदै गएको तारे होटललगायतका  पर्यटन व्यवसायको कुल सञ्चालन क्षमताको एक तिहाई भन्दा पनि कम क्षमता उपयोग भई सञ्चालनमा समेत घाटा रहेको जनाइएको छ । 

Advertisement

आजको दिनमा ३५ लाख पर्यटकलाई धान्न सक्ने पर्यटन क्षेत्रको क्षमता विकास भईसकेको र राज्यले घोषणा गरेको सन् २०२३ मा १० लाख पर्यटन, सन् २०२५ लाई विशेष पर्यटन वर्ष र पर्यटक दशकको कार्यक्रमहरुलाई निजी क्षेत्रसँगको सहभागिता र समवन्यमा कार्यक्रमहरु द्रुत गतिमा अगाडि बढाइनु पर्नेमा जोड दिइयो । 

पर्यटन दशक प्रारम्भ भएको झन्डै ८ महिना व्यतित भइसक्दा पनि कार्यक्रम, बजेट, सचिवालयसम्म नतोकिएको प्रति चिन्ता व्यक्त गरियो । भैरहव र पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरु हुन नसकेको प्रति बैठकले चिन्ता व्यक्त गर्दै सो विमानस्थलहरु अविलम्ब पूर्ण क्षमतामा सञ्चालन हुनुपर्ने कुरामा जोड दिएको छ ।

संसारकै महँगो हवाई यातायातले गर्दा महँगो गन्तव्यको रुपमा चिनिएको हाम्रो मुलुक अझै यसमा थपिएको हवाई भाडा र यसमा लागेको १३ प्रतिशत भ्याट तथा २ प्रतिशत विलाशिता करले अझै यसलाई महँगो बनाएको छ । क्षमताको एक तिहाई पनि राम्रोसँग सञ्चालन हुन नसकेका हाम्रा पर्यटन व्यवसायबाट बैंकहरुलाई तिर्नु बुझाउनु पर्ने साँवा र व्याज बुझाउन नसकेको वाध्यता पनि बैठकमा प्रस्तुत भयो । 

बैठकमा पर्यटन क्षेत्रले विदेशीहरुलाई सेवा दिएवापत आर्जन गरेको विदेशी मुद्रालाई पनि अन्य निर्यात उद्योगले पाउने सरहको नगद प्रोत्साहन सुविधा पाउनुपर्नेमा जोड दिइयो । 

बैठकमा, नेपाल पर्यटन बोर्डको संरचनाबारे सरकारलाई बुझाइएको प्रतिवेदन, सार्वजनिक निजी साझेदारी अवधारणा अनुरुप संचालित नेपाल पर्यटन बोर्डको २०८०–०८१ को बजेट यथाशीघ्र पारित भई प्रववद्र्धन कार्यक्रमहरु सञ्चालन हुनुपर्नेमा बैठकले विशेष जोड दिएको छ । 

उक्त अवसरमा नाट्टा, टान, एनएमए, नारा, सोट्टो, एचआरए, एनटीभीए, रेवान, पाटा, टुरगान, टीटीडीसी, होटल व्यवसायी महासंघ, इओएलगायतका २० भन्दा बढी पर्यटनसँग सम्बन्धित संघ संस्थाका अध्यक्ष तथा पदाधिकारीहरु लगायत पर्यटन उद्योगका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


 

Advertisement

Advertisement