‘मलाई लेखनमा लत लागिसक्यो, अब कलम छोड्दिन, अवसर पाए अभिनय पनि छोड्दिन्’

Advertisement

विन्दु अधिकारी ढकाल पछिल्लो समयकी परिचित साहित्यकार हुन् । साथै, एक सामाजिक अभियन्ता र कलाकार पनि । साहित्य क्षेत्रमै लागेर थुप्रै सम्मान र पुरस्कार बटुल्न सफल उनी कला र अभिनय क्षेत्रमा पनि प्रवेश गरेकी छन् । विन्दुले मह जोडीको ‘भिmलिमिली’ चलचित्रमा अभिनय गरेकी छन् । उनको अनुभव र आगामी यात्राबारे कर्पोरेट नेपालले  गरेको कुराकानीः 

तपाइँको साहित्यिक यात्रा कहिले कसरी सुरुवात भयो ? 
तेह्र वर्ष भयो मैले लेखन कार्य सुरु गरेको त्यो भन्दाअघि मैले साहित्यिक पुस्तकहरु पढ्ने गर्थें । पढेर मात्र हुन्न, आफूले पनि केही सिर्जना गर्नुपर्छ भन्ने मनमा लागिरहेको थियो । यद्यपि रचनाहरु प्रकाशित गर्नुपर्छ भन्ने कुरा मलाई ज्ञान थिएन् । विद्यालय पढ्ने समयदेखि नै मैले साहित्यक कृतिहरु धेरै पढ्ने गर्थें । त्यसबेलाको समय पनि त्यस्तै थियो । म जुन ठाउँमा जन्मिएको थिए, साहित्यको प्रचारप्रसार हुन्थेन् । एसएलसी सकेर कलेज पढ्दासम्म परिवारका नाता कुटुम्बभित्र कोही साहित्यको बारेमा जान्ने थिएन् । म सानैदेखि पढ्न र लेख्न मन पराउने स्वभावको थिएँ । मुना, मधुपर्क जस्ता पत्रपत्रिकाहरु पढ्ने गर्थें । सानै उमेरमा विवाह भयो । बुहारी भएपछि केही असहज भयो । त्यसमा पनि घरमा जेठी बुहारी । झन जिम्मेवारी बढी हुने भयो । केही समयपछि बालबच्चा भए । उनीहरुलाई समय दिन थाले । श्रीमानको जागिर नेपाल प्रहरीमा थियो । घरमा बस्न नपाउने बाहिर बस्नु पर्ने । जे जस्तो भए पनि मैले पढ्न छोडिन् । घरमा बस्दा लेखरचना, कविता, कथा  पढ्ने गर्थें । लेखकहरुको लेख हेर्दा यति त म पनि लेख्न सक्छु सोच आउन थाल्यो । 

Advertisement

साहित्यमा लाग्ने प्रेरणा कसरी मिल्यो ?  
आजभन्दा १८ वर्षअघिको कुरा हो । कथाभित्र लुकेको कथा एउटा के थियो भने मेरो बुबा नै कवि हुनुहुँदो रहेछ । बुबाले २०३५ सालमा कविता छपाउनु भएको पछि मात्र थाहा भयो । उहाँ पछिल्लो समय बालकृष्ण अधिकारी ‘धनकुटे’ अक्सिजन कविका नामले चिनिनुहुन्छ । पछि बुबाको कविता छापिए विराटनगरबाट नै साहित्यिक पत्रिका पठाईदिन थाल्नुभयो मलाई । बुबा सामाजिक अभियन्ता, व्यवसायी, राजनीतिज्ञ हुनुहुन्थ्यो । गाउँमा केही भयो भने चौकीको हवल्दारले बुबालाई जिम्मा लगाउँथे । पछिल्लो समय बुबालाई अल्ली बिसन्चो भयो । हिँडडुल गर्न कम भए पनि लेखनमा तीब्रता दिन थाल्नुभयो । बुबाले पनि मलाई घरमा बस्दा यसरी बस्नुहुन्न भनेर धेरै मानिसको उदाहरण दिनुहुन्थ्यो । म यहाँसम्म आज आउनुमा बुबाको प्रेरणा नै हो । बुबाले कहिले पनि कुनै कुरामा रोक्नुभएन् । आज पनि म उहाँलाई सम्झिँदा भावुक हुनेगर्छु । 

सुरुमा कविता, कथा के लेख्नुभयो तपाइँले ? 
सुरुवातमा कविताबाट नै मेरो साहित्यक यात्रा सुरु भएको हो । शिक्षिका नामक मेरो  पहिलो कविता हो । तर बुबालाई मैले कहिले देखाउन सकिन् । बुबाको आँखा छलेर विराटनगर प्रेसमा छाप्नका लागि संगम अभियानमा पठाएको  थिए ।  

बुबाले चाहिँ के के किताब लेख्नुभएको छ ? 
उहाँ २०७३ मा स्वर्गीय हुनुभयो । बुबाको दुई वटा कविता  संग्रह  एउटा ‘राष्ट्रियता बोल्दैछ’ अर्को ‘संवृद्ध बनाउँ नेपाल’ छन् । आत्मवृतान्त ‘नदिझैं जिन्दगी’ छ । यी तीन वटा कृत्तिहरु उत्कृष्ट छन् । मैले बुबाको नाममा एउटा गीत निकालेको छु । बुबाले लेखेका कृतिको किताव निकाल्दा निकै खुसी हुनुभएको थियो । मैले पनि उहाँले गर्दा थोरैथोरै गरी लेख्न सुरु गरें । 

तपाइँले लेखेका किताबहरुमा उत्कृष्ट कुन लाग्छ ? पुरस्कृत पनि हुनुभएको छ कि ? 
पछिल्लो समय मैले ‘बाढी’ नामक लघुकथाबाट पुरस्कृत भएको थिए । कविता सङ्ग्रह २०७४ सालमा र मावली दिदी (कथा सङ्ग्रह) २०७७ मेरो उत्कृष्ट रचना हुन् । गोरखापत्र दैनिकको सहप्रकाशन ‘मुना’मा देशका लब्धप्रतिष्ठित व्यक्तिहरुको बाल्यकालिन अनुभवको सँगालो ‘बालापन स्तम्भ’ लेखनदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न पत्रपत्रिकाहरुमा समय सान्दर्भिक दर्जनौं लेखरचना प्रकाशित छन् । साथै प्रहरी प्रधान कार्यालयबाट २०७५ सालको प्रहरी दिवसको अवसरमा नगदसहित कदरपत्रबाट पुरस्कार पनि भएको थिएँ । ११०औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौं जेसीआई लेडी नेपाल तथा नागरिक एकता समाजद्धारा कदरपत्र प्रदान भयो । लीलाध्वज थापा साहित्य प्रतिष्ठानद्धारा कदरपत्र प्राप्त गरें ।  श्रद्धेय लीलाध्वज थापाज्यूको ९८औँ जन्मजयन्तीको उपलक्ष्यमा नइ रजत महोत्सव पदक २०७७ मा नइ कृति रत्न पदक, २०७८ प्राप्त गर्नेलगायत धेरै संघसंस्थाबाट पुरस्कृत भएको छु । मलाई मैले लेखेका कृतिहरु सबै नै सर्वोकृष्ट लाग्ने गर्छ । 

साहित्यिक क्षेत्रबाहेक कुन कुन क्षेत्रमा आबद्ध हुनुहुन्छ ?
म धेरै संस्थाहरुमा आवद्ध रहँदै आएको छु  । नेपाल प्रहरी श्रीमती संघको केन्द्रीय सदस्य, कर्णाली नेपाल प्रहरी श्रीमती संको अध्यक्ष, उपाध्यक्ष काठमाडौंमा सीताराम पदमकुमारी फाउण्डेसनको उपाध्यक्ष, भोजपुर ढकाल सेवा समाजको आजीवन सदस्य तथा सचिव, आजीवन कार्यसमिति सदस्य, भक्तपुर पुष्पपराग साहित्य प्रतिष्ठानको आजीवन सदस्य तथा कार्यकारिणी कोषाध्यक्ष, मह सञ्चारको व्यानरमा निर्मित “झिलिमिली’’ सिनेमामा वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यज्यूको जीवन संगिनिको भूमिकामा अभिनय गरेको छु । ‘बुबा जन्म यो यस्तै भयो’ बोलको गीतको रचना मैले गरेको हो । सो गीतको म्युजिक भिडियो र अरु पनि केही म्युजिक भिडियोमा अभिनय गरेको छु । 

कस्तो लघुकथा लेख्न मन पर्छ तपाइँलाई ? 
मैले लघुकथा लेख्न सुरु गरेको धेरै समय भएको छैन् । आजसम्ममा २५ वटा जति लघुकथा लेखेको छु । पहिलो सम्मान र कमाई ‘बाढी’ले दिएको थियो भने त्यो भन्दाअघि खसीको आयू नामक कथामा म दोस्रो भएको थिएा । मेरो विचारमा लघुकथा संख्यात्मक भन्दा पनि गुणात्मक हुनुपर्छ । लघुकथाका लागि म सिकारु नै हो । लघुकथा भनिसकेपछि सुरुवातमा मिलन छ भन्ने अन्त्यमा बिछोड हुनैपर्छ  ।

पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?
व्यस्थताको कुरा गर्दा कहिँले साहित्यिक गोष्ठी र विमोचनका कार्यक्रम भइरहेको हुन्छ, त्यहाँ जान्छु । साहित्यिक र सामाजिक कार्यमा नै बढी व्यस्त हुनेगर्छु । त्योबाहेक मैले हाल अर्थरोजगार भन्ने पत्रिकामा महिनामा एउटा लेख लेख्ने गर्छु । सडकमा बस्ने मानिसहरुको जीवन संघर्षको बारेमा मैले कथा लेख्ने हो । जुत्ता सिलाउनेले कसरी जीवन चलाएको छ ? बालबच्चालाई कसरी पढाएको छ ? जस्ता कुरामा सानो सानो कथा बनाउने हो । यस्तो लेखनमा बढी सक्रिय छु अहिले । 

कलाकारितामा चाहिँ कसरी जोडिन पुग्नुभयो ?  
संयोग भनम कि के भनम्, गोरखापत्र संस्थानले हरिवंश आचार्यको बालापन लिएर आउनु भनेर भन्यो । त्यसको लागि हरिवंश आचार्यले समय पनि दिनुभयो । उहाँको बालापन खोज्दाखोज्दै चलचित्रमा खेल्न बोलाउनुभयो । उहाँले लेख्नु भएको ‘झिलिमिली’ कथामा आधारित फिल्ममा बिजुलीको उपयोग गरौं, बिजुली कै साधन चलाउँ, घरमा पनि विद्युतीय सामग्रीको उपयोग गरौं भन्ने विषयमा आधारित थियो । यो यूएसएआईडीको प्रोजेक्टमा तयार भएको फिल्म हो जुन एक घण्टा छ मिनेटको छ । हरिवंश आचार्यको श्रीमतीको भूमिका मैले निभाएको छु । यस्तो अवसर पाउनु महत्वपूर्ण अवसर र खुशीको विषय हो । 

साहित्यिक यात्रामा लाग्नुभएको यतिका समय भएछ । विभिन्न संघसंस्थाबाट सम्मानित पनि हुनुभयो । सरकारको तर्फबाट के कस्ता सहयोग र सम्मान पाउनुभएको छ ?
सरकारको तर्फबाट केही पाएको छैन् । सरकारसँग के अपेक्षा गर्नु ? उही साहित्य समाजका लागि केही गरिरहेको छु । आफूलाई आनन्द हुने काम  गरिरहेको छु । 

अबका योजना चाहिँ के छ ? 
अब यिनै कामहरुलाई निखार्दै लाने हो । नयाँ कुनै पनि कुरा गर्ने योजना छैन् । कलाकारिताको भूमिका निर्वाह गर्ने अवसर पाए गर्छु । पहिलो पटक मह जोडीसँग काम गर्न पाएको थिएँ । कथा, कविता लेख्ने, साहित्य नै मेरो जीवन हो । यसमा नै रमाउने मेरो योजना छ ।  

साहित्य, समाजसेवी, कलाकारिता यीमध्ये रोज्नु पर्यो भने कुन क्षेत्रलाई रोज्नु हुन्छ ? के काम गर्न तपाइँलाई बढी रुची छ ? 
सबै महत्वपूर्ण क्षेत्र हुन् । सबैको आ–आफ्नो मूल्यमान्यता छ । चलचित्रमा काम गर्न पाए धेरै छिटो दर्शक स्रोताले चिन्नुहुन्छ । मेरो कलमबाट साहित्यक यात्रा सुरु गरेको हो । आज कलाकारको पनि सुरुवात भएको छ । एउटा शरीरमा भएका मुटु र कलेजो जस्तो अभिन्न कुरा हो कलाकारिता र साहित्य मेरा लागि । सहज कुनै काममा पनि छैन् । सबैतिर कठिन छ । आ–आफ्ना ठाउँका संघर्ष र दुःख छ । मेरो कलमलाई म रोक्दिन । मलाई लेखनमा लत लागिसकेको छ । हरेक दिन केही लेखिन भने खल्लो लाग्छ । साहित्यमा मेरो प्राण बसेको छ । मेरो जीवनको अभिन्न अंग जस्तै भएको छ । र, अभिनयको मौका पाए अभिनय पनि गछौं ।  

Advertisement

Advertisement