नौ वटा संसदीय समितिको सभापति सर्वसम्मत, भुटानी प्रकरणमा मुछिएकी आरजु पनि सभापति

Advertisement

काठमाडौं । प्रतिनिधिसभाका १० वटा संसदीय समितिमध्ये नौ वटाका सभापति सर्वसम्मत चुनिने भएका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा भने चुनाव हुने भएको भएको छ । 

संसदीय समितिहरुको सभापतिका लागि आज आइतबार मनोनयन दर्ता गर्ने समय तोकिएको थियो । सोअनुसार नौ वटा समितिमा दलहरुबीच भागबण्डा मिले पनि एउटामा भने मिल्न नसकेको हो । 

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टी बाहेकका दलहरूबीच सभापतिमा भागवण्डा भएको हो । भागबण्डा मिलेअनुसार सोमबार अपरान्ह ३ बजे सम्वन्धित समितिको बैठक बसेर सभापति घोषणा हुनेछ । एकभन्दा बढी उम्मेदवार भएको समितिमा भने चुनाव हुने जनाइएको छ । 

संसदका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार सार्वजनिक लेखा समिति सभापतिमा नेकपा एमालेका ऋषिकेश पोखरेलको मात्र उम्मेदवारी परेको छ । यो समिति सबैभन्दा शक्तिशाली मानिन्छ । 

नेपाली कांग्रेसबाट आरजु राणा देउवाले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समिति र सन्तोष चालिसेले अर्थ समितिको सभापतिमा उम्मेदवारी दिएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको भन्दै आरजुमाथि छानविन र कारवाहीको माग भइरहेको बेला कांग्रेसले उनलाई समितिको सभापति बनाउनु अर्थपूर्ण देखिन्छ । 

त्यस्तै, कानुन, न्याय तथा मानव अधिकार समितिको सभापतिमा माओवादी केन्द्रकी विमला सुवेदी, पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपकबहादुर सिंहको उम्मेदवारी परेको छ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादी पार्टीका राजकिशोर यादव र स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा एकीकृत समाजवादीका भानुभक्त जोशीको उम्मेदवारी परेको छ । 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा भने जनमत पार्टीका अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीको उम्मेदवारी परेको छ । सत्तारुढ गठबन्धन र एमालेबीचको भागवण्डामा यो समिति जनमतले पाए पनि स्वतन्त्र पार्टीको समेत यसमा दावी रहेको छ । 

Advertisement

Advertisement