युवाले ठूला सपना देख्नु पर्छः एनसेल सीईओ जाब्बोर

Advertisement

काठमाडौं । एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले शनिबार आयोजित ‘काठमाडौं युथ कन्क्लेभ (केवाईसी), २०८०’ मा सहभागी युवाहरूलाई प्रेरणा दिए । 

युवाकेन्द्रित यस कार्यक्रममा विभिन्न शैक्षिक पृष्ठभूमि, समुदाय र भौगोलिक स्थानका करिब ५ हजार युवाहरू सहभागी थिए । यस वर्षको ‘केवाईसी’ संस्करणको विषय ‘इन्स्पायरिङ युथ, लिडिङ द नेसन’ रहेको एनसेलको विज्ञप्तिमा उल्लेख छ । 

Advertisement

प्रेरणादायी वक्ताका रूपमा सहभागी जाब्बोरले १६ देखि २५ वर्ष उमेर समूहका युवाहरुमाझ आफ्नो प्रस्तुति राखेका थिए । युवाहरूलाई थप सिक्ने भोक र लगनशीलताका साथ लक्ष्यमा अधि बढ्न उनीहरुले प्रेरित गरेका थिए । 

जाब्बोरले युवाहरूलाई प्रतिस्पर्धी बन्न, आफ्नो इच्छाअनुसार काम गर्न र त्यसलाई वास्तविकतामा परिणत गर्न प्रोत्साहित गरेको बताएका थिए । उनले भनेका थिए, ‘प्रतिस्पर्धाले तपाईंलाई राम्रो बनाउँछ । राम्रा प्रतिस्पर्धीहरूले तपाइँलाई अझ राम्रो बनाउँछन् ।’

युवाहरूसँग आफ्ना प्रेरणादायी यात्रा, नेतृत्वका मुख्य सिद्धान्त र अनुभव बाँड्दै जाब्बोरले योजनाको महत्व र लगनशीलतामा जोड दिनुपर्ने बताएका थिए । ‘यदि तपाइँ अझ राम्रो गर्न चाहनुहुन्छ र ठूलो सफलता हासिल गर्न चाहनुहुन्छ भने तपाइँले सपना देख्नु पर्छ,” उनले भने, “आफूले विश्वास गरेको कुरा सिक्ने जोस हुनुपर्छ र त्यसलाई भिजुअलाइज गर्नुपर्छ ।’

कार्यक्रममा प्रख्यात नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत, मास्टरशेफ सन्तोष शाह, ट्रेल रनर मीरा राई, क्रिकेटर पारस खड्का र रूपेश्वर गौरा दासलगायतका वक्ता थिए । 

विभिन्न क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्न सफल व्यक्तित्वहरूको अनुभव र ज्ञान युवाहरूमाझ बाँडेर हौसला बढाउने यस सम्मेलनको प्रमुख उद्देश्य थियो । यो सम्मेलन युनिभर्सल कलेज र फिनिक्स कलेजको सहकार्यमा आयोजना गरिएको थियो ।

Advertisement

Advertisement