डिजल र पेट्रोल बिक्रीबाट निगमले कमायो साढे ५० करोड, वार्षिक नाफा ६ अर्ब नाघ्ने

Advertisement

काठमाडौं । आयल निगमले एकै महिना ५० करोड ४८ लाख नाफा गरेको छ । निगमले साउन महिनामा आयात भएको डिजेल र पेट्रोलबाट मात्रै सो बराबर मुनाफा गरेको हो ।

भन्सार विभागको तथ्यांक अनुसार साउन महिनामा निगमले इन्डियन आयल कर्पोरेसनसँग ७६ हजार ७१ सय ६ किलोलिटर डिजल खरिद गरेको छ ।

Advertisement

यसका लागि निगमले भारतीय आयल कर्पोरेसनलाई ७ अर्ब ३४ करोड रुपियाँ तिरेको छ। हाल निगमले डिजलको बिक्रीमा २ प्रतिशत नाफा राख्ने गरेको छ । अहिलेको डिजलको बजार मूल्य निगमले  १ सय ६४ रुपियाँ तोकेको छ । २ प्रतिशत नाफाले निगमलाई प्रतिलिटर ३ रुपियाँ २८ पैसा पर्न जान्छ । साउनको आयातबाट मात्रै निगमले २५ करोड १६ लाख रुपियाँ नाफा प्राप्त गर्नेछ ।

यसैगरी साउन महिनामा निगमले ५६ हजार ९ सय १ किलोलिटर पेट्रोल आयत गरेको छ। यसका लागि निगमले भारतीय बजारमा रु ५ अर्ब ४४ करोड ७० लाख खर्चिएको छ । हाल निगमले पेट्रोलको मूल्य निर्धारण स्वचालित प्रणालीबाट गर्दै आएको छ । निगमले साउन महिनाको आयातबाट मात्रै २५ करोड ३२ लाख नाफा गर्नेछ ।

यसरी स्वचालित मूल्यमा गएको निगमले एकै महिना डिजल र पेट्रोलबाट मात्रै ५० करोड ४८ लाख रुपियाँ नाफा गर्नेछ। यद्यपी यो तथ्यांक निगमको साउन महिनाको आयात विवरणलाई आधार मानेर निकालिएको हो ।

स्वचालित प्रणालीमा गएपछि निगम डिजल र पेट्रोल बिक्रीमा कहिले पनि घाटामा जाने छैन । किनभने मूल्य जति घटेर वा बढेर आएपनि निगमलाई डिजलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा हुनेछ ।

निगमले खाना पकाउने ग्याँसमा भने कुनै नाफा राखेको छैन । यस्तै हवाई इन्धनमा भने २० प्रतिशत भन्दा बढी नै नाफा राख्ने गरेको छ । निगमले आर्थिक वर्ष २०७९/८० मा १८ अर्ब भन्दा धेरै नाफा गरेर सरकारी संस्थानतर्फ सबैभन्दा धेरै नाफा गर्ने संस्थान बनेको छ ।

यदि निगमको साउन महिनाको नाफालाई आधार मान्ने हो हो भने डिजेल र पेट्रोल बिक्री गरेर मात्रै निगमले ६ अर्ब भन्दा माथी नाफा गर्ने देखिएको छ ।

Advertisement

Advertisement