काठमाडौं । शेयर बजारमा झिनो सुधार देखिएको छ । नेप्से थोरै उकालो चढे पनि कारोबार रक मभने एक अर्बमै सीमित रह्यो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज बजार ७.०४ अंकले बढेको हो ०.३५ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९६७.८३ अंकमा उक्लिएको छ ।
आज २७० कम्पनीका ३४ लाख ३२ हजार २ सय ६७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९ करोड ९१ लख ३९ हजार ६ सय ९७.१६ रुपियाँ बराबरको कारोबार भएको हो ।
बजार झिनो अंकले बढे पनि विभिन्न छ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी कमाएका छन् । थ्री स्टार हाइड्रो, दोल्ती पावर, ग्रीन भेञ्चर लिमिटेड, रुरु जलविद्युत, आशा लघुवित्त र अपर स्याङ्गे हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १०, ९.९९, ९.९५, ९.८९, ९.८० र ९.२९ प्रतिशतले नाफा कमाएका हुन् ।
त्यस्तै लिबर्टी इनर्जीका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.९८ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज आईएमई लाइफको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ५ करोड २८ लाख ८४ हजार ३२.५० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन हिजो आइतबार २९.८१ अंकले बजार घट्दा १ अर्ब १८ करोड ६६ लाख १८ हजार ४ सय १०.८७ रुपियाँ बराबरको कारोबार भएको थियो ।