काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले सरकारले क्रिकेट खेलाडीलाई दिने घोषणा गरेको पुरस्कार रकम नदिएकोमा आपत्ति जनाएका छन् ।
सोमबार संसदमा बोल्दै उनले भने, ‘आज नेपालले भारतसँग एसियन कप खेल्दैछ । हामी बधाई दिँदैछौं । म प्रधानमन्त्रीलाई सोध्न चाहन्छु शुभकामना लेख्दै गर्दा हातहरुमा डर लाग्छ कि, भिडियो कन्फ्रेन्समा बधाई दिँदै गर्दा तपाइँको अनुहार कस्तो हुन्छ ?’
नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई लिग २ सिरिजका बेला तीन लाख, नेपाल, यूएई र पिएनजीसँग यूएईमा खेल्दा तीन लाख, नेपाल, यूएई र पिएनजीसँगको सिरिज जित्दा तीन लाख, प्रधानमन्त्रीले घोषणा गरेको दुई लाख र एसीसी प्रिमियर कप जित्दाको छ लाख दिने सरकारले घोषणा गरेको थियो । तर यो रकम खेलाडीहरुले पाउन सकेका छैनन् ।
शाहीले भारतीय कप्तान रोहित शर्माले एक वर्षमा २७ करोड कमाउँदै गर्दा नेपाली कप्तान रोहितले ७ लाख २० हजार भन्दा बढी छैन् भन्दै क्रिकेट खेलाडीलाई दिने भनेको पैसा किन रोकिएको हो ? यो पैसा छिटो भन्दा छिटो दिइओस्, होइन भने खोक्रो राष्ट्रवाद नदेखाइओस् भन्दै आलोचना गरे ।