काठमाडौं । शेयर बजारमा आज झिनो सुधार देखिएको छ । नेप्से थोरै उकालो चढे पनि कारोबार रकम भने उत्साहजनक छैन ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४.२६ अंकले बढेको हो । ०.२१ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९६९.१८ अंकमा पुगेको छ ।
आज २७१ कम्पनीका २८ लाख ७४ हजार २ सय ७५ कित्ता शेयर किनबेच हुँदा ८७ करोड ४ लाख ४४ हजार १ सय ५६.८२ रुपियाँ बराबरको कारोबार भएको हो ।
बजारमा झिनो सुधार देखिएको दिन आज इमर्जिङ नेपाल र थ्री स्टार हाइड्रोका लगानीकर्ताहरुले क्रमशः ९.९९ र ९.९८ प्रतिशतले नाफा कमाएका छन् । यता, शुभम् पावरका लगानीकर्ताहरुले सबैभन्दा बढी ९्.९९ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज रिलायवल नेपाल लाइफ इन्स्योरेन्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ९ करोड ३८ लाख ८० हजार ८ सय ६० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । कम्पनीको शेयर हिजोबाट मात्रै किनबेच शुरु भएको हो । उक्त कम्पनीको शेयर मूल्य आज रु. ४८९ मा ओर्लिएको छ ।
साताको पहिलो दिन हिजो आइतबार ४२.१४ अंकले बजार घट्दा २ अर्ब २ करोड ८४ लाख ६५ हजार ६सय १०.९४ रुपियाँ बराबरको कारोबार भएको थियो ।