काठमाडौं । ग्लोबल आइएमई बैंक र बोटलर्स नेपाल लिमिटेड तथा बोटलर्स नेपाल (तराई) लिमिटेडबीच च्यानल फाइनान्सिङ कार्यक्रमसम्बन्धी सम्झौता भएको छ ।
उक्त कार्यक्रम कार्यान्वयन गर्नका लागि एक समझदारी पत्रमा बैंक र बोटलर्स नेपाल लिमिटेड तथा बोटलर्स नेपाल (तराई) लिमिटेडबीच एक सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।
सम्झौताअनुसार बैंकले बोटलर्स नेपाल तथा बोटलर्स नेपाल (तराई) का उत्पादनहरू खरिद गर्नका लागि आधिकारीक डिष्ट्रिब्युटर्सहरुलाई आवश्यक चालू पूँजी प्रदान गर्न च्यानल फाइनान्सिङ्ग सुविधा प्रदान गर्नेछ ।
बोटलर्स नेपाल तथा बोटलर्स नेपाल (तराई)का आधिकारिक डिष्ट्रिब्युटर्सहरुले बैंकको जुनसुकै शाखाबाट च्यानल फाइनान्सिङ्ग कार्यक्रमअन्तर्गत कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।
उक्त कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यका साथै बोटलर्स नेपाल लिमिटेडका मेनेजिङ डाइरेक्टर दीपक सेन्थिलनाथ लगायत दुवै संस्थाका वरिष्ठ अधिकृतहरूको उपस्थिति रहेको थियो ।
बैंकले ३५० शाखा कार्यालय, ३६९ एटिएम, ३२२ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको जनाएको छ ।