पर्यटन क्षेत्रमा समस्यै समस्या, पर्यटन नबुझेका मन्त्री र सचिव आउँदा झन समस्या

Advertisement

काठमाडौं । पर्यटन क्षेत्र नियमन तथा प्रवर्द्धन गर्ने निकायका अधिकारी, विज्ञ र व्यवसायीहरुले नेपालको पर्यटन क्षेत्रको विकासका लागि नीतिगत सुधार आवश्यक रहेको बताएका छन् ।

मंगलवार नानले आयोजना गरेको कार्यक्रममा पर्यटन क्षेत्रका विज्ञहरुले पर्यटन क्षेत्रको विकासका लागि नीतिगत सुधार आवश्यक रहेको बताएका हुन् । उनीहरुले विद्यमान ऐन, कानूनहरुले पर्यटन क्षेत्रको विकास सम्भव नहुने भन्दै ऐन, कानूनलाई समयानुकुल परिमार्जन गर्नुपर्ने बताए । 

Advertisement

पर्यटन विभागका निर्देशक कालिप्रसाद भुजेलले पर्यटन विभागलाई नै नेपालको कुनै ऐन, कानूनले नचिन्ने अवस्था रहेको बताए । उनले पर्यटन विभागले मन्त्रालयको सचिवले दिएको अधिकार प्रत्यायोजनबाट काम गरिरहेको बताए । भुजेलले ऐनले विभागलाई निश्चित बाटोहरु दिएमा काम अगाडी बढाउन सकिने भन्दै त्यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराए । 

उनले भने, ‘पर्यटन विभागलाई हाम्रो कुनै ऐन, कानूनले चिन्दैन । पर्यटन ऐन लगायत हामीले जतिपनि ऐनहरुमा काम गरिरहेका छौँ, हामीले जुन काम गरिरहेका छौँ तिनीहरुले पर्यटन विभाग भन्ने नै चिन्दैन । हामी मन्त्रालयको सचिवले दिएको अधिकार प्रत्यायोजनबाट काम गरिरहेका छौँ । अब नयाँ बन्ने ऐनले पक्कैपनि चिन्नेछ । हामीहरुलाई पनि केही निश्चित बाटाहरु दिनेछ । र हामी त्यसबाट काम अगाडी बढाउने छौँ । नेपालमा पर्यटन भन्दा बाहेकको विकल्प पनि खासै देखिँदैन । उत्पादनमुखि उद्योगहरु हामीले सञ्चालन गरेर विश्व बजारमा बेच्न सक्ने अवस्था हामीमा छैन । त्यसकारण हामीले पर्यटन कसरी भित्राउने र त्यसबाट कसरी देशलाई अगाडी बढाउने भन्ने विषय मात्रै हो । पर्यटक भित्राउन सकेमात्रै हाम्रो भविष्य उज्वल छ ।’

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले पर्यटन क्षेत्रमा नीतिगत स्पष्टता आवश्यक रहेको बताए । उनले व्यक्तिपिच्छे फरकफरक बाटो हिँड्ने गरिएको भन्दै पर्यटन विकासका लागि एउटै बाटो बनाउनुपर्ने बताए । रेग्मीले नीतिमा स्पष्टता दिएपछि पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए । उनले पर्यटनको विकासका लागि अध्ययन गर्न विज्ञ समूह नै बनाउनुपर्ने बताए । 

रेग्मीले भने, ‘पर्यटनको विकासमा जाने कहाँ ? व्यक्ति अनुसारको बाटो बनाइयो । यो सबभन्दा गलत हो । पर्यटन कस्तो बनाउने ? भन्नेमा एउटा गहन छलफल गरौँ । विज्ञ राखौँ । एउटा मार्गदर्शन बनाऔँ । हाम्रो पर्यटनमा यो काम गर्ने हो । योभन्दा बाहिर जाने होइन । प्रधानमन्त्री फेरिँदैमा प्रधानमन्त्रीले बोल्ने भाषा फेरिनु भएन । मुख्य मार्गदर्शन जुन कोरिएको छ । त्यसमा हिँड्नुप¥यो । गन्तव्य के हो थाहा छैन । व्यक्तिपिच्छेको बाटो भएर कहिले यो देश बन्छ ? नीतिगत रुपमा हामी स्पष्ट छैनौँ । नीति स्पष्ट नभएपछि व्यक्तिपिच्छेको भएको हो । नीति स्पष्ट भएपछि पूर्वाधार निर्माणमा आउनुपर्छ । पर्यटन ऐन तुरुन्त अगाडी बढाउनुपर्यो ।’

पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले पर्यटन क्षेत्रमा हाल भएका कानूनहरुको कार्यान्वयन भए मात्रै पनि धेरै राहत हुने बताए । उनले ऐन, कानून भएर मात्रै नहुने भन्दै त्यसलाई कार्यान्वयन गर्ने मान्छे पनि उपयुक्त हुनुपर्ने बताए । रिजालले सम्बन्धित मन्त्रालयको मन्त्री, सचिव र सरोकारवाला अन्य व्यक्तिहरु पर्यटन क्षेत्र बुझेको भएमात्रै यस क्षेत्रको विकासमा काम गर्न सकिने बताए । 

उनले भने, ‘भइरहेको नियम, कानूनहरु पूर्ण रुपमा कार्यान्वयन हुन् । मानिलिउँ सय प्रतिशत काम नहोला तर नेपालका ऐन, नियम, नियमावलीहरु मैले देख्दा, मैले पर्यटन बोर्डमा पनि मेरो सधैँ डिस्कस यसैमा रहन्छ, भइरहेका विद्यमान नियम, कानूनहरु पूर्ण रुपमा तपाइँले ५० प्रतिशतभन्दा माथि मात्रै कार्यान्वयन गरिदिनुभयो भने धेरै राहत हुन्छ । धेरै गर्न सकिन्छ । अनि त्यो कार्यान्वयन गर्ने मान्छे चाहिँ उपयुक्त हुनुपर्छ । उपयुक्त नहुने मान्छे जानुहुन्न । मन्त्री, सचिव पर्यटन बुझेको मान्छे आउनुपर्छ ।’

पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन क्षेत्रको विकासमा पहिलो चुनौतिको रुपमा पूर्वाधारको अवस्था रहेको बताए । उनले त्यसका साथै नीतिगत स्थिरता र नेतृत्व स्थिर हुन नसक्दा पनि यस क्षेत्रमा समस्या भएको बताए । 

जोशीले पर्यटन क्षेत्र विगत ४० वर्ष अघिको जत्तिको पनि राम्रो हुन नसकेको टिप्पणी हुने गरेको बताए । उनले भने, ‘पहिलो चुनौति हाम्रो पूर्वाधारको अवस्था नै हो । त्यसमा बहशको जरुरी नै छैन । यो अकाट्य सत्य हो । सबैभन्दा ठूलो चुनौति आजका दिनमा पुर्वाधारकै चुनौति छ । अर्को चुनौति नीतिगत स्थिरता, नेतृत्वको स्थिरताले पनि हाम्रो प्राथमिकता मेन्टेन गर्न दिएको छैन । पर्यटन क्षेत्रमा विगतदेखि लागिरहेको मान्छेहरु आजभन्दा ४० वर्ष अगाडी नेपालको पर्यटक एकदम राम्रो थियो । तर अहिले झनझन खस्किदै आएको छ भन्नुहुन्छ । त्यो कारणहरुमा हाम्रो फोकस भिजनमा काम गर्ने वातावरण नभएर पनि होला ।’

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष निलहरि बाँस्तोलाले देशको नीति पर्यटनमैत्री नभएको भन्दै पर्यटनमैत्री नीति बनाउनु जरुरी रहेको बताए । उनले पर्यटकलाई विमानस्थल, अध्यागमनमा समस्या हुने गरेको भन्दै यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताए । 

बाँस्तोलाले भने, ‘पर्यटनमैत्री नीति बनाउनु जरुरी छ । पर्यटनमैत्री नीति भएन । विमानस्थलदेखि नै समस्या छ । अध्यागमनमा पनि समस्या छ । कर्मचारीलाई व्यक्तिगत रुपमा खुशी नबनाएमा काम नहुने । पर्यटन गन्तव्यहरुको संरक्षण, पर्यटनसँग सम्बन्धित सम्भावना बोकेको ठाउँलाई संरक्षण गर्दै गुरुयोजना अनुसार नै काम गर्नुपर्छ । तत्कालिन, अल्पकालिन र दिर्घकालिन गुरुयोजनाको कन्सेप्टमा गइदिने हो भने स्थानीय सरकारले पनि त्यसैमा टेकेर बाध्यता भएर उसले अन्त खर्च नगरीकन त्यहाँ भएका पर्यटन गन्तव्यहरुलाई नै संरक्षणतिर लगानी गर्नुपर्ने देखिन्छ । यो नै मुख्य बिन्दु हो जस्तो मलाई लाग्छ ।’

होटल एशोसिशयन अफ नेपाल (हान)का अध्यक्ष विनायक शाहले नेपालमा दिन प्रतिदिन होटलहरु थप भइरहेका भन्दै यसमा खुशी हुनुपर्ने बताए । उनले होटल सञ्चालन क्षमताको एकतिहाइ क्षमतामा मात्र होटल सञ्चालन भइरहेको बताए । शाहले काठमाडौं, भैरहवा र पोखराको विमानस्थल राम्रोसँग चलाउन सके ३५ लाख पर्यटकलाई सेवा दिनसक्ने अवस्थामा होटल क्षेत्र रहेको बताए । 

उनले भने, ‘काठमाडौं, भैरहवा, पोखराको विमानस्थल राम्रोसँग चलाउने हो भने हामीले ३५ लाख पर्यटकलाई हामी सेवा दिनसक्छौँ । त्यो क्षमता हामीसँग आजै छ । हाम्रो समस्या भनेको पूर्वाधार नै हो । पर्यटन, होटलको जति ह्याण्डिल गर्ने हाम्रो क्षमता हो, त्यसको हाराहारीमा हामी एकतिहाईको क्षमतामा मात्रै सञ्चालन भएको छ । बैंकबाट कर्जा लिएको छ । साँवा, ब्याज तिर्ने कसरी हो भन्ने चुनौति नै हो हाम्रो लागि ।’

नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा)का अध्यक्ष रमेश थापाले पर्यटक आवागमन गर्ने सडक चुस्त, दुरुस्त हुनुपर्ने बताए । त्यस्तै पर्यटकहरुलाई घुम्नका लागि एकद्वार प्रणाली बनाउनुपर्ने उनले बताए । थापाले भने, ‘बाटोलाई चुस्त, दुरुस्त राख्नुपर्यो । एउटा पर्यटक जति पनि ठाउँमा घुम्नको लागि जान खोज्छ, उसको लागि एकद्वार प्रणाली बनाउनु पर्यो । डिजिटाइज गर्नुपर्यो । पर्यटकलाई दिने सेवा, सुविधामा एकद्वार प्रणाली ल्याउनुपर्छ । यसले उनीहरुलाई घुम्न सहज हुन्छ ।’

टुरिष्ट गाइड एशोसिशयन अफ नेपाल (टुर्गान)का अध्यक्ष बद्री नेपालले देशमा अनुभवी गाइडहरु घट्दै गइरहेको बताए । उनले टुरिष्ट गाइडहरु प्रोत्साहित हुन नसकेको बताए । नेपालले गाइडहरु दुई महिना काम गरेर बाँकी १० महिना बेरोजगार बस्नुपर्ने अवस्था आउन नहुने बताए । 

गाउँ पर्यटन प्रवद्र्धन मञ्चका उपाध्यक्ष तारालाल धरेलले नेपालमा पर्यटनको विकासका लागि डिजिटल मार्केटिङ आवश्यक रहेको बताए । उनले पर्यटन क्षेत्रलाई समृद्ध बनाउनका लागि विज्ञ समूह बनाएर काम गर्नुपर्ने बताए । नेपाल डिजिटल रुपमा कमजोर रहेको उल्लेख गर्दै धरेलले यसलाई बलियो बनाए धेरै पर्यटक ल्याउन सकिने बताए । 

Advertisement

Advertisement