गैर-कानूनी गतिविधि गरेको छैनः एलआईसी नेपाल, ‘अभिकर्तानै दोषी’

Advertisement

काठमाडौं । एलआईसी नेपालले कुनै पनि गैर-कानूनी गतिविधि नगरेको स्पष्ट पारेको छ । 

कम्पनीले आज विज्ञप्ति प्रकाशित गरी एक अभिकर्ताले आवश्यक कागजात अर्को दिन ल्याइदिने आश्वासन दिई आफ्नै बीमितको बीमाबाट योजनाबद्व रुपमा वास्तविक बीमितको स्वीकृति बेगर झुक्याई ऋण झिक्न लगाएको र यसमा कम्पनीको दोष नरहेको उल्लेख गरेको छ । 

Advertisement

कम्पनीको विज्ञप्ति जस्ताको तस्तैः

प्रेस-विज्ञप्ति  

बीमा क्षेत्रमा दीर्घकालिन अनुभव भएका एवं उच्च तहको व्यवस्थापकहरुद्वारा संचालित एक सुनौलो इतिहास भएको लाइफ इन्स्योरेन्स कर्पोरशन लि., नेपाल लगायत विश्वका करिब १४ वटा देशमा संचालनमा रहेको सर्व विदितै छ  । करिब २३ वर्ष अघि नेपालमा स्थापना भएको यस कम्पनीको बारेमा केही दिनयता विभिन्न संचार माध्यममा प्रकाशित भ्रमपूर्ण सामग्रीहरु प्रति यस कम्पनीको ध्यानकर्षण भएको छ । लाखौं बीमितहरुको अटुट भरोसा र सदैव संस्थागत सुशासन पालनामा कटिबद्व रहेको यस कम्पनी आफ्ना अमुल्य ग्राहक, शेयरधनी महानुभावहरु एवं सरोकारवालाहरूलाई केही व्यक्तिको सीमित स्वार्थको लागि फैलाईएको भ्रम, टिकाटिप्पणी र नकारात्मक सामग्री प्रति विश्वास नगर्न आग्रह गर्दछ । साथै नियोजित रुपमा दुःषित मनसायका साथ कम्पनी विरुद्व गरिने यस्ता अनर्गल प्रचारबाजीलाई कडा शब्दमा भत्सर्ना  गर्दछ ।

यस कम्पनीका कुनै एक बीमितको सहमति बेगर निजको बीमालेखबाट ऋण जारी भएको सूचना प्राप्त भएपछि सो तर्फ यस कम्पनीले अनुसन्धान गर्दा सन् २०२० मा कुनै एक अभिकर्ताले आवश्यक कागजात अर्को दिन ल्याइदिने आश्वासन दिई स्वयं आफ्नै बीमितको बीमाबाट योजनाबद्व रुपमा वास्तविक बीमितको स्वीकृति बेगर झुक्याई ऋण झिक्न लगाएका रहेछन् । पुनःउक्त ऋण रकमबाट निज अभिकर्ताले आफ्नै कोडमा नयाँ बीमलेखहरू जारी गरी सो वापत कमिशन लगायत अन्य घोषित पुरस्कार एवं इन्सेन्टिभ प्राप्त गरि दुरुपयोग गरेका रहेछन् । करिब ३ वर्ष पछि आएर निज अभिकर्ताले आफू निर्दोष देखिन उक्त ऋण रकमबाट आफ्नै कोडमा खरिद गरेको नयाँ बीमाहरु र सो वापत प्राप्त कमिशन तथा अन्य सुविधा रकम उपभोग गरिसकेको तथ्यलाई लुकाई छिपाई केवल कम्पनीलाई बदनाम गर्ने उदेश्यले अपुरो एकोहोरो तथ्यलाई बारम्बार केही संचार माध्यममा प्रेषित गरेको देखिन आयो । विस्तृत रुपमा अनुसन्धान गर्दा निज अभिकर्ता नै यस घटनाको मूख्य योजनाकार रहेछन भनेर प्रष्ट हुन आयो । सो कार्यमा संलग्न सम्बन्धित कर्मचारीलाई प्रचलित कानून बमोजिम कारवाही भइहेको र हाल उक्त बीमालेखको ऋण चुक्ता भइ बीमा पुर्ण रुपमा चालू हालतमा रहेको प्रष्ट पार्न चाहन्छौं । सो घटनाका मूख्य व्यक्ति निज अभिकर्तालाई  सो बारेमा स्पष्टीकरण पेश गर्न निर्देशन दिईएकोमा हालसम्म पनि निजले सो बारेमा कुनै प्रष्टीकरण नदिई वेवास्ता गरी बस्नु भएको छ । त्यसै गरी निजले अभिकर्ताको हैसियतमा यस कम्पनीबाट ऋण स्वरुप उपभोग गर्नु भएको कर्जा रकम चुक्ता भुक्तान गर्न बारम्बार अनुरोध गर्दा अटेर गरी बस्नु भएकोले निजले उपभोग गर्नु भएको ऋण चुक्ता नभएसम्म निजले प्राप्त गर्ने कमिशन एवं अन्य सुविधाको रकमलाई ऋणमा मिलान गर्ने तथा निजलाई नयाँ व्यवसायमा तथा समर्पण र ऋणमा साक्षीको हैसियतले हस्ताक्षर गर्न रोक लगाईएको व्यहोरा जानकारी गराउँदछौं ।​

एलआइसी नेपाल लि. नेपाल बीमा प्राधिकरण लगायत अन्य नियामक निकायहरूको साथै प्रचलित कानून, नीति-नियम र निर्देशिकाद्वारा संचालित हुँदै आएको छ । यस कम्पनीले नेपाल बीमा प्राधिकरण एवं अन्य न्यायिक निकायहरूबाट हुने फैसला र आदेशलाई सदैव शिरोधार्य गर्दै हुबहु पालना गर्दै आईरहेको छ । यस कम्पनी प्रति अगाध आस्था राखी बीमालेख खरिद गर्नु भएका आदरणीय बीमितहरूलाई कुनै पनि भ्रममा नपर्न अनुरोध गर्दै यहाँहरुको बीमा रकम यस कम्पनीमा शतप्रिशत सुरक्षित रहेको जानकारी गराउन चाहन्छौं । हाम्रा विरुद्व भएका कु-प्रचारलाई कानूनी रुपमा पुष्टी गर्न चुनौति दिदैं आस्थावान बीमितहरूलाई आफ्नो बीमाको बारेमा कुनै अद्यावधिक, जानकारी वा जिज्ञासा भए यस कम्पनीको कुनै पनि शाखा कार्यालय,अभिकर्ता वा कर्मचारीसँग सम्पर्क राख्न अनुरोध गर्दछौं ।

अन्त्यमा, यस कम्पनीले गैर-कानूनी गतिविधिलाई पूर्णरुपले निस्तेज गर्दै  सबै सरोकारवालाहरुको अटुट भरोसा एवं बिश्वासमाथि कदापी आँच आउन नदिने प्रण गर्दै यस कम्पनीको गौरवशाली इतिहासलाई अक्षुण्ण राख्नेतर्फ सदैव केन्द्रित हुने सहर्ष जानकारी गराउँदछौं । पुनः हामी सबै सरोकारवालाहरूलाई त्यस्ता भ्रमपूर्ण सामग्रीहरूमाथि बिश्वास नगर्नुहुन हार्दिक अनुरोध गर्दछौं ।

धन्यवाद

मिति २०८० आश्विन १२ गते                                                                                                                            सुदर्शन गिरी

(सूचना अधिकारी)

Advertisement

Advertisement