बैंकमा पाँच खर्ब पैसा छ, तर राष्ट्र बैंकको नीतिले लगानी हुन सकेन्ः ढकाल, कार्यकारीलाई असीमित अधिकार दिनहुन्नः हमाल
बैंकमा पाँच खर्ब पैसा छ, तर राष्ट्र बैंकको नीतिले लगानी हुन सकेन्ः ढकाल, कार्यकारीलाई असीमित अधिकार दिनहुन्नः हमाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल धितोपत्र बोर्ड (सेबोन)बीच देशभर पुँजीबजारसम्बन्धी शिक्षा तथा सचेतना वृद्धि गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको छ । बिहीबार महासंघ र बोर्डबीच यस्तो समझदारी भएको हो ।
सम्झौता पत्रमा महासंघका अध्यक्ष चन्द्र ढकाल र धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार बोर्डले महासंघको सहकार्यमा देशभर शेयर बजारसम्बन्धी सचेतना फैलाउने र शिक्षा प्रदान गर्नेछ ।
महासंघका अध्यक्ष ढकालले राष्ट्र बैंक, धितोपत्र बोर्ड र बीमा प्राधिकरण जस्ता नियमनकारी निकायहरुले बजारमा सकारात्मक सन्देश दिन जरुरी रहेको बताए । उनले अहिले बैंकहरुमा पाँच खर्ब पैसा रहेता पनि नियमनकारी निकायहरुको नीतिको कारण लगानी हुन नसकेको बताए । ढकालले अर्थतन्त्रमा समस्या आउनु शेयर बजारमा कारोबार गर्ने व्यक्ति तथा संस्थाहरुलाई दोष लगाउन नमिल्ने बताए ।
उनले पूजीबजारमा समस्या आउनु नियमनकारी निकाय र सरकारको नीति भएको बताए । ढकालले अहिलको पुँजीबजारको समस्या समाधानको लागि नियमनकारी निकाय, सरकार र लगानीकर्ताहरुको सहकार्य आवश्यक रहेको बताए ।
धितोपत्र बार्डका अध्यक्ष रमेश हमालले नेपालमा विकास र समृद्धि चाहने हो भने कार्यकारी प्रमुखलाई असिमित अधिकार दिन नहुने बताए । उनले अधिकारभन्दा पनि पद्धतिले चल्नुपर्ने उनले बताए । हमालले कसैलाई पनि शेयर बजारमा समावेश भएको कम्पनीको शेयर बन्द गर्ने र खोल्ने अधिकार हुन नहुने बताए ।
हमालले त्यति धेरै अधिकार दिएर अध्यक्ष बनाइयो भने संस्था ध्वस्त हुने बताए । उनले अहिलेसम्म विश्व प्रणालीमा आधारित भएर चलेको बताए । हमालले नेपाल भन्दा साना मुलुकहरु धेरै माथि रहेको बताए । हमालले धेरै सम्भावना भएको मुलुक नेपालमा अबको २३ वर्षमा पनि विकास गर्न सकेनौं भने कहिल्यै केही गर्न नसक्ने बताए । हमालले महासंघसँगको सहकार्य क्षणिक नभएर दीर्घकालिन रुपमा लैजाने बताए ।