काठमाडौं । नेपाल लाइफ क्यापिटलले नेपाल धितोपत्र बोर्डसँगको समन्वयमा मधेश प्रदेशको जनकपुरमा लगानीका आधारभूत विशेषता, धितोपत्र बजार र जोखिम व्यवस्थापन सम्बन्धि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा विभिन्न क्षेत्रका गरी १ सय ८ व्यक्तिहरुले सहभागिता जनाएका थिए । नेपाल धितोपत्र बोर्डका निर्देशक हरिप्रसाद भुसालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
नेपाल लाइफ क्यापिटलका सीईओ नविन बाँस्कोटाले लगानीका क्षेत्र र शेयर बजारको महत्व बारे प्रकाश पारेका थिए । उनले निम्न आय भएका व्यक्तिले शेयर बजारमा कसरी पहुँच पुर्याउन सक्छन् र यस्तो बजारबाट सर्वसाधारणले कसरी लाभ लिन सक्छन् भन्ने विषयमा जोड दिएका थिए ।
त्यस्तै, कोष प्रबन्धक नवराज सिलवालले लगानीका आधारभूत कुरा, धितोपत्र बजार र जोखिम व्यवस्थापन विषयमा प्रस्तुतिकरण गरेका थिए ।
नेपाल लाइफ क्यापिटलका अधिकृत विज्ञान नेपालले एक–एक गरी सहभागीहरुको जिज्ञासाको जवाफ दिएका थिए । कार्यक्रममा सहभागीहरुलाई डिम्याट, ब्रोकर, सेयर बजार र जोखिम विश्लेषणको बारेमा जानकारी गराइएको थियो । सर्वेक्षणबाट करिब ७० प्रतिशत सहभागीहरु आईपीओ आवेदनका लागि प्राइमरी मार्केटमा संलग्न रहे पनि शेयर बजारमा करिब ३० प्रतिशत मात्रै सक्रिय रहेको जनाइएको थियो ।
करिब ३० प्रतिशत आईपीओ होल्डरलाई आईपीओ सेयर बेच्ने वा दोस्रो बजारमा थप सेयर कसरी किन्ने बारे जानकारी नरहेको अवस्था पाइएको कार्यक्रममा जानकारी दिइयो ।