काठमाडौं । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट आईपीओ ल्याउन नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति प्राप्त गरेको छ ।
सेबोनले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई सार्वजनिक निष्कासन हुने शेयरको ४० प्रतिशतले हुने २४ लाख कित्ता शेयर बुक बिल्डिङ विधिबाट ल्याउन सर्वोत्तम सिमेन्टलाई स्वीकृति दिएको हो । धितोपत्र बोर्डले कम्पनीको आधारमूल्य ४०१ रुपियाँ तय गर्दै निष्काशनको अनुमति दिएको हो ।
सेबोनबाट स्वीकृति पाएसँगै कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई आईपीओ बिक्री खुला गर्नेछ । संस्थागत लगानीकर्तालाई बिक्री गरेपछि ६० प्रतिशत शेयर सर्वसाधारणका लागि निष्काशन खुला गरिने छ ।
सर्वोत्तमले बुक बिल्डिङ विधिमार्फत् आइपीओ निष्कासन गर्न २०७९ असार २८ गते निवेदन दिएको थियो । कम्पनीले यसअघिनै ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।