दशैँ मनाउन गाउँ गएका फर्किन थाले राजधानी, तर सिंहदरबार सुनसान

Advertisement

काठमाडौं । दशैँ मनाउन गाउँ गएका राजधानी फर्किन थालेका छन् । नेपालीहरुको महान चाड बडा दशैँ मनाउन काठमाडौं उपत्यका बाहिर गएकाहरु फर्कन थालेका हुन् । 

काठमाडौंको कलंकी, थानकोट, भक्तपुरका नाकामा शुक्रबार पनि सवारी साधनको लामो लाइन देखियो । दशैँको नवमी र दशमीका दिन काठमाडौं उपत्यकामा यातायात सुनसान जस्तै भए पनि बिस्तारै गाउँ गएकाहरु उपत्यका नै फर्किन क्रम बढेसँगै सडकमा चहलपहल देखिन थालेको छ । 

Advertisement

गाउँबाट फर्किएकाहरु सडकमा सामान र बालबालिकाहरुसहित उभिएको देख्न सकिन्छ । दशैं मनाउन गाउँ गएका फर्किन थाले पनि देशको मुख्य प्राशसनिक केन्द्र सिंहदरबार पनि आज सुनसान जस्तै देखियो । 

दशैँ मनाउन मन्त्री, नेता र कर्मचारीहरु जिल्ला जाँदा सिंहदरवार सुनसान बनेको हो । दशैँको बिदा सकिएर सरकारी कार्यालयहरु खुल्न थालिसक्दा पनि सिंहदरवारमा चहलपहल भने त्यत्ति बाक्लो देखिएन् । 

शुक्रवार पनि सिंहदरबारमा मानिसहरुको आवतजावत निकै कम देखिएको छ । हाल मन्त्रालयमा सिमित कर्मचारीहरुलाई मात्रै देख्न तथा भेट्न सकिन्छ । दैनिक हजारौँको संख्यामा मानिसहरु सिंहदरवार प्रवेश गर्ने भए पनि अहिले फाट्टफुट्ट मात्रै मानिसहरु र सवारी साधनहरु देख्न सकिन्छ । 

दशैँ सकिन अझै दुई दिन बाँकी रहेका कारणले पनि सिंहदरबार सुनुसान बनेको छ । शनिवार पूर्णिमाका दिनबाट मात्रै दशैँको टिका विधिवत रुपमा सकिन्छ । आईतवारबाट भने नियमति काममा फर्किने कर्मचारीहरु बढ्ने अनुमान गर्न सकिन्छ ।

Advertisement

Advertisement