काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स कम्पनीले आज कात्तिक २१ गतेदेखि मंसिर ५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ निष्काशन खुला गर्ने मिति पछि सारिएको छ ।
अब उक्त कम्पनीको आईपीओ मंसिर ४ गतेदेखि १८ गतेसम्म निष्काशन खुला हुने बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।
तिहारको बिदा परेकाले लगानीकर्ताको सहजताका लागि आइपीओ निष्काशनको मिति पछि सारिएको जनाइएको छ । तर, आईपीओ निष्काशन तत्कालका लागि रोक्न सार्वजनिक लेखा समितिले निर्देशन दिएकाले मिति पछि धकेलिएको हो ।
समितिले प्रिमियम मूल्यमा आइपीओ जारी गर्न लागेका कम्पनीहरुको बारेमा नियामक निकाय बीमा प्राधिकरण र धितोपत्र बोर्डसँग स्पष्टीकरण मागेको छ । हिमालयन रि ले मिति पछि सारे पनि उक्त मितिमा पनि आईपीओ निष्काशन हुने नहुने अनिश्चित छ ।
कम्पनीले चुक्ता पूँजी १० अर्ब रुपियाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपियाँको आईपीओ सर्वसाधारणलाई बिक्री गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको थियो ।
कूल निष्काशनको १० प्रतिशत अर्थात् ३० लाख कित्ता शेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गर्न लागेको हो ।
बिक्री प्रबन्धकका अनुसार कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा १०६ रुपियाँ प्रिमियम थप गरेर रु. २०६ मा आईपीओ जारी गर्न लागेको हो ।
इच्छुक लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा गएकाहरुका लागि शेयर बाँडफाँट गरेपछि सर्वसाधारणका लागि निष्काशन खुला गर्ने कम्पनीले जनाएको छ ।