राहत वितरणसँगै चौधरी ग्रुपले भूकम्पबाट घरविहीन भएकालाई ‘ट्रान्जिसनल होम’ बनाइदिने

Advertisement

काठमाडौं । चौधरी समूहको चौधरी फाउण्डेसनले जाजरकोट र रूकुमका भूकम्प पीडितका लागि राहत वितरण कार्य जारी राखेको जानकारी दिएको छ । 

साथै, फाउण्डेसनले पश्चिम नेपालमा भूकम्पबाट घरबिहीन भएकाहरुलाई ‘ट्रान्जिसनल होम’ बनाइदिने घोषणा पनि गरेको छ । अहिले आफ्नो उच्चस्तरीय टिम जाजरकोट र रुकुम पुगी भूकम्प प्रभावितका लागि तत्काल आवस्यक राहत सामग्री वितरण गरिरहेको बताउँदै फाउण्डेसनले जाजरकोट र रूकुमका विभिन्न वस्तीका भूकम्प प्रभावितका लागि स्थानीय प्रशासनसँगको समन्वयमा राहत वितरण गरेको बताएको छ । 

Advertisement

चौधरी फाउण्डेसनले खाद्यान्न, त्रिपाल, ब्ल्याङ्केट र औषधि भूकम्प प्रभावित क्षेत्रमा पुर्याएको बताएको छ । आफ्नो टिम प्रभावित क्षेत्रमै रहेर तत्काल आवश्यक पर्ने राहत व्यवस्थापन गरिरहेको बताउँदै चौधरी समूहले राहत वितरण कार्य जारी रहने बताएको छ । 

तत्कालको राहत व्यवस्थापनसँगसँगै भूकम्पले घरविहीन हुनु भएका परिवारका लागि ‘ट्रान्जिसनल होम’को अत्यन्तै खाँचो छ भन्दै फाउण्डेसनले भत्किएका घरहरू पुनर्निमाण गर्न समय लाग्ने र त्रिपालमुनीको बास कष्टकर हुने भएकाले जतिसक्यो चाँडो ‘ट्रान्जिसनल होम’ बनाएर घरविहीन भएका भूकम्प प्रभावितहरूलाई ओतमुनी पुर्याउन आवश्यक रहेको बताएको छ । 

स्थानीय प्रशासन र स्थानीय पालिकासँगको समन्वयमा ‘ट्रान्जिसनल होम’हरू निर्माण गरिने छ । घरहरु निर्माणका लागि आवश्यक पर्ने वित्तीय सहयोग चौधरी फाउण्डेसनले गर्नेछ भने स्थानीय निकायले सेल्टर निर्माणका लागि आवश्यक पर्ने जमिन र स्थानीय तहमै उपलब्ध सामान एवं श्रमको व्यवस्थापन गरिने छ । 

आज (मंगलबार) बिहान चौधरी फाउण्डेसनका प्रतिनिधि र नगरपालिकाका मेयर पुष्प वादीबीच उक्त नगरभित्र भूकम्पले घर भत्किएका ५० परिवारका लागि यथासम्भव छिटो ‘ट्रान्जिसनल होम’ निर्माण गर्ने सहमति भएको चौधरी समूहको भनाई छ । 

फाउण्डेसनले यसअघि गोर्खा केन्द्रविन्दू रहेको २०७२ सालको महाभूकम्पबाट प्रभावितहरूका लागि पनि करिव तीन हजार ‘ट्रान्जिसनल होम’ निर्माण गरि हस्तान्तरण गरेको थियो । साथै, सिन्धुपाल्चोकको गिरानचौरका भूकम्प पीडित ६२ परिवारका लागि पक्की घर निर्माण गरि हस्तान्तरण गरेको थियो । 

Advertisement

Advertisement