मञ्जुश्री ट्रेल रेस कात्तिक २४ गतेदेखि २६ गतेसम्म हुने

Advertisement

काठमाडौं । एक सय ७० किलोमिटर लामो मञ्जुश्री ट्रेल रेस कात्तिक २४ देखि २६ गतेसम्म आयोजना हुने भएको छ । ७ वर्षअघि सुरू भएको प्रतियोगिताको यो तेस्रो संस्करण हो ।

२४ गते बिहान ६ बजे  काठमाडौंको दहचोकस्थित कालु पाण्डेको स्मारकबाट १७० किलोमिटर दौड सुरू हुनेछ । यति लामो ट्रेल रेस नेपालकै पहिलो र एकमात्र भएको आयोजकको भनाइ छ । 

Advertisement

मञ्जुश्री ट्रेल रेस अन्तर्गत नै लामो दूरीमा सहभागी हुन अनुकूल नहुने सहभागीको लागी झुले, चापाखर्क र फर्पिङबाट क्रमशः ९२, ५४ र २४ किलोमिटरका तीन वटा रेस प्रतियोगिता हुनेछ । सबै दौडहरू दह चोकस्थित कालु पाण्डे स्मार्कमै पुगेर सकिनेछन् ।

गैह्रनाफामुलक सँस्था मञ्जुश्री ट्रेल रेसले ट्रेलमाण्डुको सहकार्यमा कार्यक्रम आयोजना गरेको सँस्थाका अध्यक्ष सुबास थापाले जानकारी दिए  । कार्यक्रमको ब्यवस्थापनमा आयोजक समितिका पदाधिकारी सहित ५० जना स्वयंसेवक खटिने छन् ।

आयोजकका अनुसार १७० किलोमिटरको दौडमा पुरुष र महिलातर्फका विजेताले २०२४ मा नेपालको प्रतिनिधित्व गर्दै स्विजरल्याण्डमा आयोजना हुने अल्ट्रा टुर मोन्टा रोस (युटिएमआर) मा सहभागी हुने अवसर पाउनेछन् । सो अवसरमा उनीहरूको अर्थिक लगायत सम्पूर्ण व्यवस्थापनको सम्योजन मञ्जुश्री ट्रेल रेसले गर्ने  बताइएको छ ।

स्वीजरल्याण्डमा आयोजना हुने युटिएमआर अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित रेस भएकाले धावकहरूले अन्तराष्ट्रिय मञ्चमा नयाँ अवसर पाउने थापा बताउँछन् । बिजेताले नगद र प्रमाणपत्रसहित एड्भेन्चर गियरु पुरस्कार स्वरुप प्राप्त गर्ने आयोजकले बताएको छ ।

रेसको गत वर्षको सँस्करणमा ४२ जना नेपाली र ३१ जना बिदेशी सहभागी भएकोमा नेपालका अर्जुन राईले ३१ घण्टा १० मिनेट ५७ सेकेण्डमा यो रेस पूरा गरेर प्रथम भएका थिए ।

 

Advertisement

Advertisement