काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र सहजरुपमा विद्युत् आपूर्तिका लागि महत्वपूर्ण मानिएको सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन एक सवस्टेशनको निर्माण तत्काल सम्पन्न गर्न नेपाल विद्युत् प्राधिकरणले आवश्यक निर्देशन दिएको छ ।
कूल २२०/१३२ केभी क्षमताको सो सवस्टेशन निर्माण तत्काल सम्पन्न गर्न प्राधिकरणले निर्माण व्यवसायीलाई आवश्यक ताकेता गरेको छ । प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माण भइरहेको एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् विद्युत् खेर जाने अवस्था आएपछि प्राधिकरणले तत्काल निर्माण सम्पन्न गर्न निर्देशन दिएको हो । सो आयोजनाको बिजुली खेर जान नदिन आवश्यक प्रक्रिया तत्काल अगाडि बढाउन र आवश्यक काम गर्न व्यवसायीलाई उच्च व्यवस्थापनले ताकेता गरेको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान सम्मिलित प्राधिकरणको उच्चस्तरीय टोलीले बिहीबार सबस्टेसन निर्माणस्थलको अनुगमन गरी बाँकी कामहरु तत्काल सम्पन्न गर्न निर्देशन दिएको हो ।
सो टोलीले आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग निर्माणमा देखिएका समस्या, उपकरण आपूर्तिको अवस्था, निर्माण सम्पन्न हुने तालिकालगायतका विषयमा छलफल गरेको थियो । सबस्टेसनको निर्माण आगामी माघको पहिलो हप्ताभित्र सम्पन्न गर्ने तालिका तय गरिएको छ ।
बाह्रबिसे सबस्टेसन निर्माण ठेक्का पाएको चिनियाँ कम्पनी ग्वाङ्सी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमको कमजोर कार्यसम्पादनका कारण सबस्टेसनको निर्माण ढिलाइ हुँदै आएको छ ।
प्राधिकरणले कार्यसम्पादनमा सुधार्न पटकपटक दिएको निर्देशक निर्माण व्यवयासीले पालना नगर्दा सबस्टेसन निर्माण सम्पन्न हुने तालिका प्रभावित हुँदै आएको छ । प्राधिकरणले सबस्टेसनको निर्माण सम्पन्न नभई मध्यभोटेकोशीको विद्युत् जोड्न नसकिएमा त्यसको क्षतिपूर्ति निर्माण व्यवसायीबाट भराउने चेतावनी दिँदै आएको छ ।
सबस्टेसनमा राखिने पावर ट्रान्सफर्मर जडान भइसकेका छन् । सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभीए र १३२/११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मर राखिएका छन् । ग्यास इन्सुलेटेड प्रणाली ९जिआइएस० प्रविधिमा आधारित सबस्टेसनका उपकरण जडान भइरहेका छन् । नियन्त्रण कक्षमा रहने सम्पूर्ण उपकरण निर्माणस्थलमा आपूर्ति भइसकेका छन् भने भने जडान बाँकी छ । सिभिलतर्फको फिनिसिङ काम बाँकी छ । कूल २२०/१३२ केभी सबस्टेसन निर्माणको समग्र प्रगति करिब ९० प्रतिशत छ । बाह्रबिसेमै चार सय केभीको अर्को सबस्टेसन पनि निर्माणाधीन छ ।
कार्यकारी निर्देशक घिसिङको टोलीले मध्यभोटेशी जलविद्युत् आयोजनाको पनि अनुगमन गरेको थियो । आयोजना पुसभित्र सम्पन्न गर्ने गरी अन्तिम चरणका काम भइरहेका छन् । मध्यभोटेकोशीबाट उत्पादित विद्युत् दुई सय २० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिनेछ । आयोजनाले आफ्नो विद्युत्गृहको स्वीचयार्डबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब चार किलोमिटर लामो २२० केभी सिङ्गल सर्किट प्रसारण लाइनको टावर निर्माण गरिसकेको छ । प्रसारण लाइनको करिब दुई किलोमिटर तार तानिएको छ ।
बाह्रबिसे नगरपालिका–३ र ४ स्थित पलाँतीका स्थानीय बासिन्दाको अवरोधका कारण दुई किलोमिटर तार तान्न नसकिएको मध्यभोटेकोशी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रामगोपाल शिवाकोटीले बताए । समस्या समाधानका लागि स्थानीयसँग निरन्तर छलफल भइरहेकाले छिट्टै सहमतिमा पुग्ने विश्वास उनले व्यक्त गरे ।
प्राधिकरणले मध्यभोटेशीको विद्युत् प्रवाहका लागि अस्थायीरूपमा वैकल्पिक व्यवस्था गरेको छ । तर, त्यसका लागि पनि २२०/१३२ केभी बाह्रबिसे सबस्टेसनको निर्माण अनिवार्य छ । २२ मेगावाटको माथिल्लो चाकू ए जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी शिवश्री हाइड्रोपावरले निर्माण गरेको १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनलाई डबल बनाउन लागिएको छ । शिवश्री हाइड्रोपावरले लामोसाँघु सबस्टेसनबाट बाह्रबिसेसम्म बनाउनुपर्ने उक्त लाइनको काम तत्काल सुरु गर्न प्राधिकरणको उच्चस्तरीय टोलीले आग्रह गरेको छ ।
कम्पनी करिब १० किलोमिटर लाइनमध्ये सात किलोमिटर तार तान्नुपर्नेछ भने बाह्रबिसे बजार नजिकबाट सबस्टेसनसम्म करिब तीन किलोमिटर नयाँ प्रसारण लाइन बनाउनुपर्नेछ । यसका लागि प्रसारण लाइनका सम्पूर्ण उपकरण आपूर्ति भइसकेका छन् । कार्यकारी निर्देशक घिसिङले उक्त प्रसारण लाइनमा पर्ने टावर निर्माणको काम तत्काल सुरु गर्न कम्पनीका प्रतिनिधिलाई आग्रह गरे ।
तामाकोशी तथा सुनकोशी नदी र ती नदीका सहायक खोलानालाको जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न तामाकोशी–काठमाडौँ प्रसारण लाइन र सबस्टेसन निर्माण सुरु गरिएको हो । एशियाली विकास बंैकको सहुलितपूर्ण ऋणमा प्रसारण लाइन तथा सबस्टेसनको निर्माण भइरहेको छ ।
तामाकोशी–काठमाडौँ २२०/४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट बाह्रबिसेसम्म ४४ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ । प्रसारण लाइनमा पर्ने ११८ वटा टावरमध्ये १३ वटाको मात्र निर्माण बाँकी छ । त्यसमध्ये १२ वटा सिन्धुपाल्चोकमा वन क्षेत्रमा निर्माण गर्नुपर्नेछ । एक वटा टावर नयाँ खिम्ती सबस्टेसन नजिक स्थानीयको अवरोधका कारण निर्माण हुन सकिरहेको छैन । प्रसारण लाइनको २७ किलोमिटर तार तानिएको छ ।
त्यस्तै बाह्रबिसेबाट काठमाडौँको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइन पनि निर्माणाधीन छन् । ४६ किलोमिटर प्रसारण लाइनमा पर्ने १२२ वटा टावरमध्ये लप्सीफेदीका स्थानीयको अवरोधका कारण चार वटा टावर निर्माण हुन सकिरहेको छैन । १९ किलोमिटर तार तानिएको छ । ४००/२२० र १३२/११ केभी लप्सीफेदी सबस्टेसन स्थानीय बासिन्दाको अवरोधका कारण निर्माण नै सुरु हुन सकिरहेको छैन ।