पर्यटन क्षेत्रका धेरै समस्या समाधान गर्ने ठानिएको पर्यटन विधेयक मन्त्रिपरिषद बैठकमा पेश

Advertisement

काठमाडौं । पर्यटन क्षेत्रका धेरै समस्या समाधान गर्ने ठानिएको पर्यटन ऐनको मस्यौदा (विधेयक) मन्त्रिपरिषदमा पेश गरिएको पर्यटन विभागका महानिर्देशक नारायण रेग्मीले बताएका छन् । 

मन्त्रिपरिषद् बैठकले उक्त विधेयक पास गरेर छलफलका लागि संसदमा पठाउने छ । रेग्मीका अनुसार पर्यटन क्षेत्रका धेरै समस्या समाधान सम्बोधन गर्ने प्रयास गरिएको छ । 

Advertisement

विधेयकमा हिमाल आरोहणका क्षेत्रमा काम गर्नेहरुको हितका लागि कल्याणकारी कोषको व्यवस्थादेखि हिमालको सरसफाईको दिगो व्यवस्थापनको लागि सरकारले कसरी भूमिका निर्वाह गर्ने भन्ने कुरासम्म समावेश रहेको बताए । 

पर्वतारोहण क्षेत्रमा लागेकाहरुको लागि कल्याणकारी कोषलगायतका व्यवस्थाले केही हदसम्म राहत मिल्ने रेग्मीले बताए । उनले भने ‘मलाई लाग्छ अब चाँडै नै मन्त्रिपरिषद् बैठकले ऐनको मस्यौदालाई छिटै पास गरेर संसदमा पठाउँछ ।’ 

आफूहरुले पर्यटनलाई ‘सेफ टुरिजम’को अवधारणामा लैजानुपर्छ भन्ने मान्यताका साथ काम गरेको रेग्मीले बताए । विदेशी पर्यटक नेपाल आएर आफ्नो देश सकुशल फर्किने अवस्था हामी सबैले सिर्जना गर्नुपर्छ भन्दै उनले निषेधित क्षेत्रहरु खुल्ला गर्न गृह मन्त्रालयमा पनि लविङ गरिरहेको बताए । 

रेग्मीले भने, ‘मलाई लाग्छ सरकारले यसलाई सकारात्मतक रुपमा लिने छ र निषेधित क्षेत्रहरु चाँडै खुल्ला गर्नेछ । निषेधित क्षेत्रका कारण पर्वतारोहण क्षेत्रमा मात्र नभइ जनमानसमा पनि यसको असर परेको छ । केही समयअघि गोरखामा भएको घटनाले पनि त्यही देखाउँछ ।’ 

गोरखाको सामागाउँबासीले हेलिकप्टर उडानमा अवरोध गरेका थिए । उनीहरुले गएको महिना असोज ९ गतेका दिन हेलिकप्टर उडान प्रक्रिया सहज बनाउन माग गर्दै हेलिकप्टर उडान बन्द गरेका थिए । हेलिकप्टर उडान गर्न नदिएपछि मनास्लु आरोहण गरी फर्किने विदेशी तथा आन्तरिक पर्यटक सामागाउँमा अलपत्र परेका थिए । 

पर्यटन विभागले ‘पिक प्रोफाइल’ बनाइरहेको बताउँदै आगामी दिनमा गुगल, विकिपिडियामा पनि राख्ने बताएको छ । 

Advertisement

Advertisement