काठमाडौं । इन्टरनेशनल फेडेरेशन अफ एशियन एण्ड वेस्ट्रन प्यासिफिक कन्ट्याक्टर (इफाप्का) को ४६औं अन्तर्राष्ट्रिय सम्मेलन मंसिर ५ गतेदेखि हुने भएको छ ।
एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका निर्माण व्यवसायीहरुको अन्तर्राष्ट्रिय छाता संस्था इफाप्का (इन्टरनेशनल फेडेरेशन अफ एशियन एण्ड वेस्ट्रन प्यासिफिक कन्ट्याक्टर) को अन्तर्राष्ट्रिय सम्मेलन मंसिर ५ गतेदेखि काठमाडौंमा हुने भएको हो ।
शुक्रवार नेपाल निर्माण व्यवसायी महासंघले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो । महासंघले सम्मेलन मंसिर ५ गतेदेखि ९ गतेसम्म काठमाडौंमा हुने जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै महासचिव रोशन दाहालले ४६औं अन्तर्राष्ट्रिय सम्मेलन पार्टनरिङ इन सस्टेनेबल इन्फास्ट्रक्चर भन्ने रहेको बताए ।
उनले सम्मेलनको औपचारिक उद्घाटन मंसिर ६ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट हुने बताए । सम्मेलनमा स्वदेशका १ सय ५८ र विदेशका २ सय ४२ गरी ४ सय प्रतिनिधि सहभागी हुने बताए । पर्यवेक्षकको रुपमा पनि केही प्रतिनिधि सम्मेलनमा सहभागी हुने महासंघले जनाएको छ ।
महासचिव दाहालले सम्मेलनबाटै इफाप्का अध्यक्षको कार्यभार अध्यक्ष रवि सिंहले सिंगापुरलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताए । नेपाल निर्माण व्यवसायी महासंघले इफाप्को सम्मेलन यो दोस्रो पटक सञ्चालन गर्न लागेको हो । यसअघि निर्माण व्यवसायी गणेशलाल श्रेष्ठ इफाप्काको अध्यक्ष रहँदा सम्मेलन सञ्चालन गरिएको थियो ।