मनकामना केबुलकार डिजिटल प्रविधिमा स्तरोन्नति, ५५ करोडको लागतमा रिसोर्ट बनाउँदै

Advertisement

काठमाडौं । उद्यमी स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको परिकल्पना, आँट र लगानीमा सुरु भएको नेपालको पहिलो केबुलकार सेवा मनकामना केबुलकारले २५ वर्ष पूरा गरेको छ । 

केबुलकार सेवाले सफलतापूर्वक २५ वर्ष पूरा गरी २६ वर्ष प्रवेश गरेको अवसरमा कम्पनीले आगामी दिनमा अझ स्तरीय दिने प्रतिबद्धता जाहेर गरेको छ ।

Advertisement

‘२५औं वार्षिकोत्सवको उपलक्ष्यमा हामी नेपालमा केबुलकार सेवाको परिकल्पनाकार एवम् संस्थापक स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको साहसिक एवम् ऐतिहासिक निर्णयको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रदा अर्पण गर्न चाहन्छौं,’ मनकामना दर्शन प्रालिले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

केबुलकार सेवाले हिन्दुहरुको प्रसिद्ध तीर्थस्थल मनकामना र वरपरको क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा स्थापित गराउन अतुलनीय योगदान गरेको छ । केबुलकार सेवा शुभारम्भसँगै सो क्षेत्र आन्तरिक मात्रै नभएर भारतीय र विश्वभरका पर्यटक आकर्षित गर्न सफल गन्तव्यको रुपमा स्थापित भएको छ । 

मनकामना दर्शन प्रालि २०५३ कात्तिक २२ गते स्थापना भएको कम्पनी हो । प्रालिले २०५४ माघको अन्तिम साता केबुलकार निर्माण प्रारम्भ गरी २०५५ मंसिर ८ गतेबाट व्यावसायिक सेवा सुरु गरेको हो । देशमा सशस्त्र द्वन्द्व चलिरहेको बेला अनेकौं चुनौतीको सामना गर्दै ठूलो लगानीमा केबुलकार सेवा सञ्चालन गरेर कम्पनीले ठूला लगानीकर्ता एवं उद्यमी व्यवसायीमा उत्साह जगाउने काम गरेको थियो । मनकामना केबुलकारको थालनीले नेपालमा लगानीको ठूलो सम्भावना रहेको सन्देश पनि प्रवाह गरेको थियो । 

२५ वर्षको दौरानमा कम्पनीले केबुलकारको एनालग प्रविधिलाई नवीनतम डिजिटल प्रणालीमा स्तरोन्नति गरेको कम्पनीका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिए । अस्ट्रियाको डोपलमेयर कम्पनीको डी–कनेक्ट भनिने डिजिटल प्रणालीमा स्तरोन्नति गर्ने काम सन् २०२१ मै सम्पन्न गरिसकेको कम्पनीले बाँकी काम आगामी सन् २०२४ को भदौ–असोजमा सम्पन्न गर्ने योजना अनुसार काम गरिरहेको छ  । 

सोको लागि आवश्यक केही उपकरण आयात भइसकेको छ । अबको चरणमा नियन्त्रण प्रणाली, सञ्चार केबुलका साथै केबुलकारलाई केबुलको लठ्ठा फेरेर पहिलेकै जस्तो नयाँ र स्तरीय प्रविधिको स्वरुपमा सञ्चालन हुनेछ । केबुलकार स्तरोन्नति गर्न करिब ४५ करोड रुपियाँ लगानी हुनेछ । 

साथै सन् २०२४ को अन्त्यमा वा २०२५ सुरुबाटै सञ्चालन गर्ने गरी मनकामनामा केबुलकार हाताभित्र सुविधा सम्पन्न रिसोर्ट निर्माण भइरहेको छ । ४० कोठाको यो रिसोर्टमा स्विमिङ पुल, हेल्थ क्लब, सभा–सेमिनार हल र रेस्टुरेन्टको सुविधा हुनेछ । 

कम्पनीको भगिनी संस्था रिसोर्टस् बाई मनकामना केबुलकार प्रालिको नामबाट सञ्चालन हुने उक्त रिसोर्टमा लगानी करिब ५५ करोड रुपियाँ हुने अनुमान छ । रिसोर्ट सञ्चालनमा आएपछि मनकामना र वरिपरिका क्षेत्रलाई धार्मिक साथै अन्य पर्यटकीय गन्तव्य बनाउने हाम्रो लक्ष्य रहने पनि प्रबन्ध निर्देशक श्रेष्ठले बताए । 

मनकामना केबुलकारले सुरुआती वर्षमा २–३ लाख यात्रुलाई सेवा दिएकोमा अहिले बढेर वार्षिक ११ लाख यात्रुलाई सेवा दिइरहेको छ । यस वर्ष १२ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य छ । 

Advertisement

Advertisement