‘संघीय गणतन्त्रात्मक शासन प्रणालीमा जिम्मेवारीमा बसेकाहरुले जीवनशैलीका कमजोरी सच्याउनुपर्ने

पुँजीगत खर्च र राजश्व संकलन अपेक्षाकृत हुननसक्दा अर्थतन्त्र लयमा ल्याउन गाह्रो भयोः खड्का

Advertisement

काठमाडौं । रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकमा आर्थिक स्थायित्व कायम गर्ने, लगानीको वातावरण सुधार गरी आय र रोजगारी बढाउने कुरामा सरकार लागिपरेको दावी गरेका छन् । 

शुक्रवार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को वार्षिकोत्सव कार्यक्रममा उनले बढ्दो आयात र घढ्दो निर्यातका कारण देशको अर्थतन्त्र दबाबमा परिरहेको स्वीकार गरे । 

Advertisement

पुँजीगत खर्च अपेक्षाकृत रुपमा हुन नसक्नु र राजश्व परिचालन पनि अपेक्षाकृत रुपमा बढ्न नसक्नुले अर्थतन्त्रलाई लयमा ल्याउन थप मेहनत गर्नुपर्ने आवश्यकता रहेको बताउँदै खड्काले सरकार र निजी क्षेत्रसहित सबै एकतावद्ध भएर समन्वयात्मक तरिकाले काम गरे अर्थतन्त्रलाई लयमा ल्याउन सकिने बताए । 

मुलुकसँग यतिबेला १० महिना भन्दा बढी समयको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्राको सञ्चिति रहेको पनि उनले बताए । खड्काले अर्थतन्त्रका धेरै परिसूचकहरु अझै पनि पूर्णतः जोखिममुक्त भइनसकेको बताए । 

उनले भने ‘अहिले विश्व अर्थतन्त्र प्रभावित भइरहेको विषय हामी सबैका लागि जानकारी नै छ । सानो अर्थतन्त्र भएको नेपाल हामी पनि यसबाट अछुतो हुन सकेका छैनौँ । यस्तो जटिल र विषम परिस्थितिमा मुलुकमा आर्थिक स्थायित्व कायम गर्ने, लगानीको वातावरण सुधार गरी आय र रोजगारी बढाउन हामीले हाम्रा सम्पूर्ण प्रयासहरु केन्द्रित गर्नुपर्ने खाँचो छ । बढ्दो आयात र घढ्दो निर्यातका कारण हाम्रो अर्थतन्त्र सधैँ दबाबमा परिरहेको छ । विविध समस्याहरु हामी सामना गरिरहेका छौँ । त्यसमाथि पुँजीगत खर्च अपेक्षाकृत रुपमा हुन नसक्नु र राजश्व परिचालन पनि अपेक्षाकृत रुपमा बढ्न नसक्नुले अर्थतन्त्रलाई लयमा ल्याउन हामीले थप मेहनत गर्नुपर्छ । त्यसका लागि हामी सरकार र निजी क्षेत्रसहित सबै एकतावद्ध भएर समन्वयात्मक तरिकाले काम गर्नुपर्ने आवश्यकता छ । मुलुकसँग यतिबेला १० महिना भन्दा बढी समयको वस्तु तथा सेवा आयात धान्न पुग्ने सञ्चिति छ । यो सुखद् कुरा पनि हो । यसो भएपनि अर्थतन्त्रका धेरै परिसूचकहरु अझै पनि पूर्णतः जोखिममुक्त भइसकेका छैनन् ।’

प्रधानमन्त्री खड्काले वर्तमान संघीय गणतन्त्रात्मक शासन प्रणाली तुलनात्मक रुपमा अन्य प्रणाली भन्दा उन्नत रहेको दावी गर्दै यो प्रणालीको विकल्प नरहेको बताए । वर्तमान शासन प्रणालीलाई अघि बढाउँदा जिम्मेवारीमा बसेकाहरुले कामबाट, निर्णय, कार्यशैली, जीवनशैलीबाट आएका र देखिएका कमजोरीलाई समयमा नै सच्याउनुपर्ने उनले बताए । 

गलत तरिकाले आम नागरिकलाई गलत सूचनामार्फत भ्रम पारेर संघीय लोकतान्त्रिक गणतन्त्रको उन्नत शासन प्रणालीलाई नकारात्मक रुपमा प्रश्तुत गर्ने कुरालाई सबैले सामुहिक रुपमा जवाफ दिन जरुरी रहेको खड्काको भनाई छ । 

उनले शासकीय सुधारहरु, सुशासन र आम नागरिकका अपेक्षाहरु, दैनिक आम उपभोक्तालाई दिनुपर्ने सेवा र सहजीकरण, निर्णय प्रक्रियामा छिटो छरितो, निर्णय प्रक्रियामा भएका झन्झटिला प्रक्रियाहरुलाई छिटो छरितो तरिकाले तिब्र गतिमा अघि बढाउन आवश्यक रहेको बताए । 

खड्काले अर्थतन्त्रमा देखिएका सबैखाले समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताउँदै सरकारले चालेका कदमका कारण ब्याजदर घट्दो क्रममा रहेकाले लगानी बढ्ने अपेक्षा सरकारले गरेको बताए । उनले घरजग्गा कारोबार र पुँजीबजारमा देखिएको शिथिलता समाधानका लागि सरकारले नीतिगत रुपमा नै कदम चालिसकेको बताए । 

Advertisement

Advertisement