सोलुखुम्बुमा ‘रक क्लाइम्बिङ सेन्टर’ र ‘एभरेष्ट दुधकोशी सांस्कृतिक पदमार्ग’को शुभारम्भ

Advertisement

काठमाडौं । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा ‘रक क्लाइम्बिङ सेन्टर’ सञ्चालन गरिएको छ । नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान) को सहकार्यमा माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ५ महभीरमा ‘रक क्लाइम्बिङ सेन्टर’ निर्माण गरिएको हो । 

टानले नेपालका नयाँ–नयाँ पदमार्गको खोजी र संरक्षणकोे लागि पर्यटकीय क्षेत्रहरुका स्थानीय सरकारसँग सहकार्य गरी रक क्लाइम्बिङमार्फत आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न ‘रक क्लाइम्बिङ सेन्टर’ स्थापना गरेको छ । ‘रक क्लाइम्बिङ सेन्टर’को शुभारम्भ विश्व कीर्तिमानी हिमाल आरोही कामिरिता शेर्पाले गरे । 

Advertisement

त्यस्तै, गाउँपालिकामा ‘एभरेष्ट दुधकोशी सांस्कृतिक पदमार्ग’को पनि शुभारम्भ गरिएको छ । एभरेष्ट दुधकोशी सांस्कृतिक पदमार्गका अधिकांश स्थानबाट विश्वको सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमाल हेरेर आनन्दित हुन सकिन्छ । उक्त पदमार्ग चार रात पाँच दिनको छ । 

शेर्पा समुदायको संस्कृतिसँग जोडिएको उक्त पदमार्ग ‘कुधाम भ्यु प्वाइन्ट’ पुगेर राति बास बस्नका लागि गाउँपालिकाले वासस्थान निर्माण गरिदिएको छ । विश्वकीर्तिमानी पर्वतारोही शेर्पाले नेपालका थुप्रै डाँडाहरुमा रक क्लाइम्बिङको ठूलो सम्भावना रहेको बताए । शेर्पाले नेपालका डाँडाहरुलाई विश्वमा बेच्नसके पर्यटन क्षेत्रमार्फत नेपालको अर्थतन्त्र बलियो बनाउन सकिने बताए । 

उनले विदेशीहरुलाई पर्वतीय क्षेत्रहरु मन पर्ने भएकाले सोलुखुम्बुका डाँडाहरुमा होम स्टे लगायत रक क्लाइम्बिङ सञ्चालन गर्नसक्ने ठूलो सम्भावना रहेको बताए । उनले नेपाल पर्यटन बोर्ड विदेशी पर्यटकको पैसा असुल्न मात्रै नभएको भन्दै पर्यटकीय जिल्लाका सम्भावना बोकेका पहाडहरुमा पर्यटकीय गन्तव्य निर्माणको लागि सहयोग गर्नुपर्ने बताए । 

शेर्पाले पर्यटन बोर्ड लगायत पर्यटन क्षेत्रमा काम गर्ने संस्थाहरुले पर्यटकीय गन्तव्य निर्माणको लागि सम्भावना क्षेत्रमा सहयोग गर्नु आवश्यक रहेको बताए । उनले सरकारी निकायहरुले पर्यटकीय सम्भावना भएका क्षेत्रहरुको विकास गर्छन् भन्ने आशा लाग्न छाडेको बताए । 

त्यस्तै, ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष निलहरि बाँस्तोलाले ‘रक क्लाइम्बिङ सेन्टर’लाई अन्तर्राष्ट्रिय रक क्लाइम्बिङ इन्स्टिच्युट सेन्टरको रुपमा विकास गर्नुपर्ने बताए । उनले त्यसको लागि सरकार र निजी क्षेत्र मिलेर अगाडि बढ्न आवश्यक रहेको बताए । 

बाँस्तोलाले ‘रक क्लाइम्बिङ नेपालमा नयाँ पर्यटकीय एडभेन्चरको रुपमा विकास भइरहेको बताए । उनले पछिल्लो समय स्थानीय तहले जथाभावी मोटर बाटो खन्दै जाँदा पदमार्ग हराउँदै गएकोले सोलुखुम्बुमा पर्यटकलाई आकर्षण गर्न प्रकृति र संस्कृतिलाई सँगसँगै अगाडि बढाउन टानले सहकार्य गर्न लागेको बताए । 

अध्यक्ष बाँस्तोलाले एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग घोरेपानी–पुनहिललाई बिर्साउने पदमार्ग हुने बताए । उनले तीन हजारभन्दा बढी उचाईमा रहेको उक्त पदमार्गबाट हिमाल, लालिगुराँस र चराचुरुङ्गीको मिठो आवाजसँगै शेर्पा, राई, तामाङ र विभिन्न समुदायको संस्कृति थाहा पाउने भएकाले उत्कृष्ट गन्तव्य रहेको बताए । 

बाँस्तोलाले जनकपुर र हलेसी दर्शनका लागि आएका पर्यटकलाई ‘एभरेष्ट दुधकोशी सांस्कृतिक पदमार्ग’मा लैजानसके सोलुखुम्बुको पर्यटन क्षेत्रले कोल्टे फेर्ने बताए । 

माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले अघिल्लो कार्यकालमा नै पदमार्ग बनाउने गुरुयोजना दोस्रो कार्यकालमा आएर पूरा भएको बताए । उनले सांस्कृतिक पदमार्ग तथा रक क्लाइम्बिङले गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने बताए । उनले पर्यटन पर्वद्धन गर्नसके एउटा पालिकोको मात्रै नभएर समग्र देशकै नमूना गन्तव्यको रुपमा यो क्षेत्रको रुपमा विकास गर्न सकिने सम्भावना रहेको बताए । 

राइले यो क्षेत्रबाट सगरमाथालाई नजिकबाट देख्न सकिने बताउनु भयो । उनले गाउँपालिकाले पर्यटनको विकासलाई विशेष प्राथमिकतामा राखेर सात वर्षदेखि बजेट विनियोजन गर्दै आएको बताए । उनले गाउँपालिकाले वार्षिक कुल बजेटको २० देखि २५ प्रतिशत रकम पर्यटन विकासका लागि विनियोजन गर्दै आएको बताए । 

राइले सडक बाटो हुँदै सगरमाथा क्षेत्र घुम्न जाने पर्यटकलाई रक क्लाइम्बिङप्रति आकर्षण गर्ने उद्देश्यले ‘रक क्लाइम्बिङ सेन्टर’ स्थापना गरिएको बताए । 

Advertisement

Advertisement