सौराहामा हात्ती सुन्दरी प्रतियोगिता, सात सुन्दरी हात्ती प्रतिष्पर्धा गर्दै

Advertisement

काठमाडौं । चितवनको सौराहामा जारी हात्ती सुन्दरी प्रतियोगितामा सात वटा हात्ती सहभागी भएका छन् । मंगलवारबाट शुरु भएको १७ औं संस्करणको चितवन पर्यटन तथा हात्ती महोत्सवको दोस्रो दिन आज (बुधवार) हात्ती सुन्दरी प्रतियोगिताअन्तर्गत ७ सुन्दरी हात्तीहरुको प्रतिष्पर्धा शुरु भएको हो ।

हात्ती सुन्दरी प्रतियोगितामा सेल्फिकली, समृद्धिकली, लक्ष्मीकली, बिजुलीकली, रानीमायाकली, चम्पाकली र रिमझिमकलीले सहभागिता जनाएका छन् । पाँच जनाएको निर्णयक टोलीले महोत्सवको अन्तिम दिन पहिलो, दोस्रो र तेस्रो हुने सुन्दरी हात्तीको नतिजा सार्वजनिक गर्नेछ । 

Advertisement

महोत्सवस्थलमा प्रतियोगिताको निर्णायक मण्डलका सदस्य विनोद तिमिल्सिनाले प्रतियोगिताको निर्णय आँखाको सुन्दरता, हिँडाई, शरीरको बनावट, माउतेले भनेको मान्ने, नमान्ने र रौँको अवस्था हेरेर मूल्यांकन गरिने बताए । उनले नङ फुटे÷नफुटेको, हिँडाइ लगायतका बारेमा मूल्यांकन गर्ने बताए । 

तिमिल्सिनाले निर्णयक मण्डलले आज यसको नतिजा आयोजकलाई बुझाउने र १४ गतेमात्रै निर्णय गर्ने बताए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५, १० र ५ हजार रुपियाँ पुरस्कार दिने र सहभागी सबैलाई एक हजार रुपियाँले पुरस्कृत गर्ने बताए । 

तिमिल्सिनाले मानिसमा मात्रै सुन्दरता नहुने र जनावरमा पनि सुन्दरता हुने भएकाले प्रतियोगिताका रुपमा अघि बढाएको बताए । उनले कोरोना भन्दाअघि युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थामा ६० वटा हात्ती भएको र अहिले ३० वटा हात्ती मात्रै रहेको बताए । कोरोनाका कारण हात्ती पाल्न नसकेकाले भाडामा ल्याएका हात्तीहरु भारत फिर्ता लगिएकाले हात्तीको संख्या कम भएको बताए । 

Advertisement

Advertisement