डेढ अर्ब लगानीको सौराहास्थित चितवनकै पहिलो पाँच तारे ‘लक्जरी रिसोर्ट’ सञ्चालन हुन लाग्यो

Advertisement

काठमाडौं । सौराहामा चितवनकै पहिलो पाँच तारे लक्जरी रिसोर्ट सञ्चालनमा आउन लागेको छ । नेपालमा होटल तथा रिसोर्टमा ठूलो लगानी भइरहेको बेला पर्यटकीय क्षेत्र सौराहामा लक्जरी रिसोर्ट ‘रोयल टुलिप’ सञ्चालनमा आउन लागेको हो । 

यही आउँदो जनवरी कि फेब्रुअरीमा सञ्चालनमा ल्याउने गरी निर्माण कार्य भइरहेको काठमाडौं हस्पिटालिटीका सञ्चालक रामेश्वर शाहले बताए । उनका अनुसार अन्तर्राष्ट्रिय हस्पिटालिटी व्यवसायमा स्थापित फ्रान्सेली ब्राण्ड लुभ्र होटल्स ग्रुपसँगको सहकार्यमा सञ्चालनमा ल्याउन लागिएको हो । 

Advertisement

यो होटलको लगानीकर्ता साह गैरआवासीय नेपालीहरुका एक अगुवा पनि हुन् । उनले ‘रोयल टुलिप रिसोर्ट’ अबको एक–डेढ महिनामा सञ्चालनमा आउने बताए । उनले भने, ‘कोभिड–१९ को बेला शिलान्यास गरिएका थियौं । अहिले निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यो रिसोर्ट करिब ३४ रोपनी क्षेत्रफलमा निर्माण भइरहेका छ । यसमा २२ वटा भवन छन् ।’

चितवनमा एउटै पनि पाँच तारे होटल तथा रिसोर्ट नरहेको र एउटै प्रकृतिका होटल चल्ने र खुल्ने गरेकोले फरक खालको अन्तर्राष्ट्रिय चेन होटल सञ्चालन गर्न आफूले लगानी गरेको साहले भनाई छ । उनले भने, ‘हामीले निर्माण गरिरहेको पाँचतारेस्तरको रिसोर्ट हो । चितवनमा लोकल ब्रान्डका होटलहरु मात्र रहेकोमा रोयल टुलिप पहिलो विदेशी ब्रान्डको रिसोर्ट हो ।’

रिसोर्टमा १३ वटा एक तल्ले, पाँच वटा दुई तल्ले, तीन वटा तीन तल्ले र एउटा चार तल्ले गरी २२ वटा भिल्ला छन् । यी भिल्लामा स्विट लगायत विविध सुविधा सहितका ६४ कोठा छन् । रिसोर्ट निर्माणमा सुरुमा ७० करोड लागत अनुमान गरिएकोमा बढेर अहिले उक अर्ब ४७ करोड रुपियाँ पुगेको बताउँदै साहले भने, ‘हामीले पर्यटकलाई विशेष सुविधा दिने लक्ष्यसहित रिसोर्टमा सुविधाहरुको व्यवस्था गरेका छौं । विभिन्न कारणले गर्दा अनुमानित लागत पनि बढेको छ ।’

विश्व बजारमा सफलता हासिल गरिरहेको बहुर्राष्ट्रिय फ्रान्सेली समूह लुभ्र होटल्स अन्तर्गतको चेन आउँदा  नेपालको पर्यटन क्षेत्रलाई विश्व बजारमा अझ प्रवर्द्धन गर्न सहयोग गर्ने उनले बताए । लुभ्र होटल्स ग्रुप विश्वको दोस्रो ठूलो होटल समूह भएको साहको दावी छ । 

अहिले रिसोर्टमा कर्मचारी भर्नाका लागि प्रस्ताव आव्हान गरिएको छ । पर्यटन क्षेत्र नेपालीको अर्थतन्त्रको बलियो खम्बा भइरहँदा कोरोना महामारीले यस क्षेत्रमा ठूलो असर गरेको भन्दै केटीएम हस्पिटालिटिका अध्यक्ष साहले नेपालमा गुणस्तरीय होटल तथा रिसोर्टहरुको धेरै आवश्यकता रहेको बताए । 

यो पनि पढ्नुहोस्ः 

सौराहामा पहिलो पाँचतारे स्तरको रिसोर्ट बनाउँदै रामेश्वर साह, लगानी ८५ करोड

Advertisement

Advertisement