काठमाडौं । कतार एयरवेजले आज (मंगलबार)देखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि उडान सुरु गरेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार आज दिउसो पहिलो पटक कतार एयर भैरहवामा ओर्लिएको हो । भैरहवा विमानस्थलका अनुसार कतार एयरवेजले ३०५ सिट क्षमताको वाइडबडी विमान एयरबस ३३०बाट दोहा–भैरहवा–काठमाडौं–दोहा रुटमा दैनिक एउटा उडान गर्नेछ ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले कतार एयरवेजले भैरहवा विमानस्थलमा दैनिक उडान भर्न लागेको बताए । यो वायुसेवाको भैरहवा उडान साङ्केतिक रुपमा ठूलो उपलब्धि भएको उनको भनाइ छ ।
भूलले भने, ‘भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुनु भनेको आफैमा नेपालको अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय एरोनोटिकल समुदायले रिकगनाइज गर्नु हो ।’विश्वका ठूला वायुसेवा कम्पनी कतार, फलाई दुबई, थाई एयर एसिया, जजिरालगायतको भैरहवाबाट उडान हुनु रणनीतिक हिसाबले निकै महत्व हुने उनले बताए ।
भुलले थपे, ‘नेपालले बनाएको अन्तर्राष्ट्रिय एयरपोर्ट ‘गेट वे’को रुपमा विश्व प्रसिद्ध एयरलाइन्सले सेडुअल उडानको रुपमा प्रयोग गर्नुभनेको आर्थिक हिसाबले गौतमबुद्ध विमानस्थल र आसपासको क्षेत्र पनि आर्थिक सम्भावनायुक्त हुनु हो । त्यो कारण पनि यसको विशेष महत्व छ । यस्ता उडानले हवाई भाडा नियन्त्रण गर्न पनि मद्दत पुग्छ ।’
नेपालले अधिकांश देशसँग गरेको हवाई सेवा सम्झौतामा इन्धनको मूल्य र प्रतिस्पर्धाको आधारमा हवाई भाडा निर्धारण गरिएको हुन्छ भन्दै उनले स्वदेशी र विदेशी वायुसेवा कम्पनीको समन्वयमा प्रतिस्पर्धी उत्कृष्ट ‘एयरफेयर सिस्टम’ भएपछि स्वदेशी वायुसेवा कमजोर हुँदाखेरि विदेशी वायुसेवाको क्षमतामा निर्भर हुनुपर्दा विदेशी कम्पनीले हवाई भाडा बढाउदा बजार उनीहरुको पहुँचमा जाने बताए ।
कतारले दैनिक दुई उडान काठमाडौँ र एउटा भैरहवाबाट गर्नेछ । कतारले यही आउँदो नोभेम्बर ३० सम्मका लागि भैरहवाको दैनिक उडान तालिका निर्धारण गरेको छ । यसअघि कतारले काठमाडौँमा दैनिक चार उडान भर्दै आएको थियो । योसहित नेपालको अर्को अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने हवाई कम्पनीको सङ्ख्या पाँच पुगेको छ ।