नवलपरासीमा बाढीको समस्या समाधान गर्न गुरुयोजना बनाइ काम गरिरहेको छुः चौधरी

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका सांसद विनोद चौधरीले पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा बाढीको समस्या समाधानका लागि आफूले गुरु योजना बनाएर काम गरिरहेको बताएका छन् । 

बुधवार प्रतापपुर– १ भिठ्ठा बर्गदवामा १०८ शतचण्डी महायज्ञको शुभारम्भ गर्दै उनले सुस्ता—बर्दघाटमा ६ वटा नदीमा बाढीको समस्या रहेकाले त्यसको दीर्घकालीन समस्या समाधानका लागि गुरु योजना बनाइ काम गरिरहेको बताएका हुन् । 

Advertisement

चौधरीले अहिले आगामी आर्थिक वर्षको बजेटमा सो क्षेत्रको समस्या समाधानका लागि सो योजना पार्न अर्थमन्त्रालयमा प्रयास जारी राखेको बताए । दुई अर्ब ६० करोड लगभगको सो बजेटलाई मूर्त रुप दिनसके चार वर्षमा सो क्षेत्रबाट बाढीको प्रकोपबाट जनता मुक्त हुने बताउँदै चौधरीले यसअघि बाढीको समस्या समाधान गर्नुभन्दा समस्यालाई डरलाग्दो बनाइराखेर राजनीति गर्ने काम भएको बताए । 

चोधरीले भने, ‘यो एउटा ठूलो सोचका साथ मास्टर प्लान बनाउँ । त्यसपछि प्रदेशको तहमा पनि जान्छौँ । ४० औं वर्षसम्म यो क्षेत्रको सुस्ताको यहाँको आंशिक रुपमा बर्दघाटका केही क्षेत्रको डुबानलाई एउटा राजनीतिक मागि खाने भाँडोको रुपमा नेताहरुले प्रयोग गरेका थिए । कहिले पनि त्यसलाई एउटा समग्र सधैँको लागि समाधान हुने सोच अघि सार्न सकेनन् र चाहेनन् । मलाई पनि निर्वाचनको क्रममा आउँदा त्यो नछुनु है, हात नहाल्नुस्, भन्थे । यो संवेदनशील छ । फलानो फलानो देश रिसाउँछ । त्यो सब बेकारको हो । मानिसलाई कमजोर बनाइराखेर राजनीति गर्ने काम मात्र हो यो । 

उनले थपे, ‘किसान, जनतालाई कमजोर बनाउने । एक वर्षको दौरानमा हामीले यहाँका ६ वटा खोलाको बाढी समाधानका लागि बाहिरका इन्जिनियरहरुलाई बोलाएर अहिले एकीकृत मास्टर प्लान तयार भएर बजेटलाई अघि बढाउने काम भएको छ । अर्को सालको बजेटमा त्यो २ अर्ब ६० करोड लगभगको त्यो बजेटलाई मूर्त रुप दिनसके ४ वर्षभरमा यो क्षेत्रबाट बाढीको प्रकोपबाट जनता मुक्त हुनेछन् ।’ 

श्री बाउन्नगढी काली मन्दिर संरक्षण प्रवद्र्धन गर्ने उद्देश्यले श्री शतचण्डी महायज्ञ आयोजक मुल समितिद्वारा आयोजित महायज्ञमा भक्तजनहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । 

Advertisement

Advertisement