देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुले मात्रै नियन्त्रण गरेः गगन थापा

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा परेको गुनासो गरेका छन् । 

बुधवार पूर्वकर्मचारी समाजको स्मारिका ‘समभाव’ विमोचन कार्यक्रममा उनले देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा परेको बताएका हुन् । थापाले देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा हुनु नेपालको प्रजातन्त्रको सबैभन्दा दुःखद् पक्ष भएको बताए । 

Advertisement

राजनीतिक दलहरु समेत तिनै प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा भएको उल्लेख गर्दै उनले यतिधेरै पूर्वप्रधानमन्त्रीहरु राजनीतिमा क्रियाशील भएको अरु देशहरुका बारेमा आफूलाई जानकारी नभएको बताए । थापाले यसो हुनु राजनीतिको दुःखद् पक्ष भएको बताए । उनले देशमा संविधान बनेर आवधिक निर्वाचनहरु हुन थाल्नु सकारात्मक कुरा भएपनि अर्थतन्त्रमा र शासकहरुको प्रवृत्तिमा भने सुधार हुन नसकेको बताए । 

थापाले भने, ‘हामीले संविधान बनायौँ । ट्रयाकमा आएको छ । लगातार एकपछि अर्को आवधिक चुनाव हुन थालेको छ । हाम्रा संस्थाहरु बनेका छन् । बिस्तारै बिस्तारै संस्थाहरुलाई बलियो बनाउने प्रयास भइरहेको छ । अलिकति केही सकारात्मक कुराहरु भएका छन् । अर्थतन्त्रमा जुनखालको परिवर्तन ल्याउनुपर्ने हो भएको छैन । शासकहरुको प्रवृत्तिमा जुन परिवर्तन ल्याउनुपर्ने हो भएको छैन । खासगरी नेपालको सन्दर्भमा हाम्रो प्रजातन्त्रको सबैभन्दा दुःखद् पक्ष भनेको पाँच–छ जना पूर्वप्रधानमन्त्री र प्रधानमन्त्रीहरुको यस्तो नियन्त्रणमा देश परेको छ कि नेपालका राजनीतिक दलहरु उहाँहरुको एकप्रकारको नियन्त्रणमा भएकोले प्रकारान्तरले नेपालको राजनीति नै उहाँहरुको नियन्त्रणमा भएको जस्तो । झगडा गरेपनि उहाँहरु । मिलेपनि उहाँहरु ।’ 

उनले थपे, ‘मैले पढेको प्रजातन्त्रमा एउटै नेता २०÷२५ वर्षदेखि । यतिधेरै भुतपुर्व प्रधानमन्त्री राजनीतिमा क्रियाशील भएको देश मलाई थाहा छैन । यतिधेरै भुतपूर्व प्रधानमन्त्री, अहिले गठबन्धनको बैठकमा जान्छु यहाँबाट, त्यहाँ एकले अर्कोलाई सम्बोधन गर्दैगर्दा नमस्कार प्रधानमन्त्रीज्यु, भनेपछि एउटा भएको प्रधानमन्त्री, अर्को हुनेवाला प्रधानमन्त्री, एउटा भइसकेको प्रधानमन्त्री, प्रधानमन्त्री नै प्रधानमन्त्री बसेको अवस्था हुन्छ । एकछिनपछि प्रमुख प्रतिपक्षसँग बैठक छ ५ बजे । त्यहाँ पनि को बस्ने भन्दा तिनवटा प्रधानमन्त्री । एउटा भइसकेको प्रधानमन्त्री, एउटा हुनेवाला प्रधानमन्त्री, एउटा हुनसक्ने प्रधानमन्त्री बस्ने बैठक । यो हाम्रो राजनीतिको दुःखद् पक्ष हो ।’

महामन्त्री थापाले पूर्वप्रधानमन्त्रीहरुलाई विस्थापन गर्ने प्रयास शुरु भएको पनि उल्लेख गरे । उनले आफ्नो पार्टीको संसदीय दलको निर्वाचनमा उम्मेदवार बनेर आफूले नेतृत्व परिवर्तनको कसरत गरेको बताए । थापाले पुराना नेतृत्वसँगको प्रतिष्पर्धा गरेर नथाकेको भन्दै निरन्तर प्रतिष्पर्धा गर्ने संकेत गरे । 

उनले भने, ‘म शेरबहादुर देउवा र सुशील कोईरालाको बिचमा संसदीय दलको चुनाव हुँदै गर्दा नेपाली काँग्रेसको संसदीय दलको कर्मचारीलाई फोन गरेर मिलाएर उहाँले ढोकामा भन्दिएर लुकेर पछाडीको ढोकाबाट, पर्खालबाट आएर हेरेको मैले त्यो चुनाव । अस्ति म त्यही गेटबाट सांसद भएर म त्यहाँ गएर चुनाव प्रतिष्पर्धा गरेर आएको हो नि त । त्यसको परिवर्तन गर्ने प्रयास पनि त भइरहेको छ । हस्तक्षेप गर्ने प्रयास पनि त भइरहेको छ । प्रश्न पनि त गरिराखिएको छ । उत्तर आएको छैन । परिणाम आएको छैन । तर यति त हो नि, छिनोले हानेको हानेकै छौँ । फुटेको छैन । तर कहीँ घन छोडेर भागेको पनि छैन । थाक्यौँ भनेर हात उठाएर गएर समर्पण गरेको छैन । हानेको हानेकै छ । हान्दै गएपछि त्यो त फुट्छ फुट्छ । नफुटिकन सुखै छैन । फुटिसकेपछि त्यसपछि नयाँ कुरा प्रारम्भ हुन्छ । यसरी हे¥यौँ भने अलिकति सकारात्मक लाग्छ । होइन सकियो, बर्बाद भयो भने त्यही कुरा लाग्छ ।’

Advertisement

Advertisement