खोटाङबाट ३६ करोडभन्दा बढीको सुन्तला निर्यात

Advertisement

खोटाङ । १० स्थानीय तह रहेको खोटाङ जिल्लाबाट यस वर्ष ३६ करोड ३५ लाखभन्दा बढीको सुन्तला निर्यात भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको ८१० हेक्टर क्षेत्रफल जमिनमा सुन्तलाखेती भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितका अनुसार जिल्लामा यस वर्ष तीन हजार ७३५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । 

यस वर्ष सबैभन्दा बढी जन्तेढुंगा गाउँपालिकामा सुन्तला उत्पादन भएको उनले जानकारी दिए । ‘जिल्लामा अहिले ७४२ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाले उत्पादन दिन थालेको छ । गत वर्षको तुलनामा यस वर्ष दश मेट्रिक टन बढी उत्पादन भएको देखिन्छ,’ उनले भने, ‘आगामी वर्ष थप वृद्धि हुँदै जाने अनुमान छ । किसानले उत्पादन गरेका सुन्तलाले राम्रो बजार पाएसँगै व्यावसायिकरूपमा खेती गर्नेको संख्या पनि बढ्दै गएको छ ।’

Advertisement

जन्तेढुंगा–६ दिप्लुङबाट मात्रै यस वर्ष एक करोडभन्दा बढीको सुन्तला निर्यात भएको स्थानीय बासिन्दा जगत् राईले दाबी गरेका छन् । ‘हाम्रो वडाको फगतपुर, चोभे, सातमारा, केराबारीलगायतका ठाउँमा सबैभन्दा बढी सुन्तला उत्पादन हुन्छ । यस वर्ष एक करोडभन्दा बढीको निर्यात गरेका छौं,’ उनले भने, ‘कसैले आफैँले बजारसम्म पुर्याएर बिक्री गरे भने कसैको बगानमै ठेकेदार आएर खरिद गरेका छन् । मैलेचाहिँ आफैँले सुनसरीको इटहरी र उदयपुरको बेल्टार, सप्तरीको फत्तेपुरलगायत बजार पुर्याएर रु ६ लाखको बेचेँ ।’

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुंगा–५ चिसापानीस्थित घोर्ले गाउँबाट एक करोडभन्दा बढीको सुन्तला निर्यात भएको स्थानीय किसानले बताएका छन् । उक्त वडाको वाचिपाला, खुटालगायतका गाउँबाट पनि उत्तिकै मात्रामा सुन्तला निर्यात भएको जनाइएको छ । जन्तेढुंगा गाउँपालिकामा कात्तिक अन्तिम हप्ताबाटै सुन्तला पाक्ने गरेकाले पनि राम्रो बजार पाउने गरेको राईले जानकारी दिए । जन्तेढुंगाका किसानले लगाएका सुन्तलाखेतीमा अहिलेसम्म रोगसमेत नदेखिएको बताइएको छ । 
 

Advertisement

Advertisement