काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले खेल क्षेत्रको विकासलाई राष्ट्रको बहुआयामिक वृहत्तर हितको मुद्दाको रुपमा अघि बढाउनुपर्ने बताएका छन् ।
शुक्रवार राजधानीमा नेपाल वादोरियो कराते संघको आयोजनामा भएको चौथो राष्ट्रिय वादोकाइ कराते प्रतियोगिताको उद्घाटन गर्दै उनले खेल क्षेत्रको विकास केवल युवाहरुको मात्रै मुद्दा मात्रै नभइ राष्ट्रको बहुआयामिक वृहत्तर हितको मुद्दाको रुपमा हेर्न र बुझ्न सक्नुपर्ने बताए ।
दाहालले विश्व राजनीति, अर्थतन्त्र, पर्यटनको विकास र अन्तर्राष्ट्रिय सम्बन्धका दृष्टिले समेत खेलकुद क्षेत्र र खेलाडीहरुले राष्ट्रिय पुलको काम गर्नसक्ने बताए । उनले नेपाल जस्तो विकासोन्मुख देशका लागि खेलकुद अर्थतन्त्रको महत्वपूर्ण र अन्तर्राष्ट्रिय कुटनीतिमा महत्वपूर्ण सावित हुने बताए ।
दाहालले खेल क्षेत्र शारीरिक र मानसिक क्रियाकलापमा मात्रै सिमित नरहेको भन्दै आजको संसारमा खेलकुदको महत्व बहुआयामिक रहेको जिकिर गरे । प्रधानमन्त्री दाहालले मुलपानी मैदान तल्लो, मोरङको वैदनाथपुरमा निर्माणाधिन गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला र चितवनको भरतपुरमार रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा समावेश गरिसकेकाले अब द्रुत गतिमा काम अघि बढ्ने बताए ।
उनले भने, ‘नेपाल अपार सम्भावना भएको देश हो । देशको विकास र प्रगतिका निम्ति हामीसँग प्रशस्त सम्भावनाहरु छन् । तीमध्ये पनि राम्रो सम्भावना बोकेको क्षेत्र भनेको खेलकुद क्षेत्र नै हो । खेल आजको दुनियामा बहुआयामिक सम्भावना भएको क्षेत्र हो । पछिल्लो दशक खेलको क्षेत्रमा नेपालले गरेको प्रगतिले यो यथार्थतालाई पुष्टि गर्दछ । मेरो तेस्रो कार्यकालमा खेलाडीहरुको वृत्तिविकास र प्रोत्साहनलाई केन्द्रमा राखेर काम गर्दै आएको छु । देशभित्र र बाहिर विभिन्न प्रतियोगितामा विजयी हुनै खेलाडीलाई सरकारको तर्फबाट पटकपटक पुरस्कृत र सम्मानित गर्दै आएका छौँ ।’
प्रधानमन्त्री दाहालले देशको विकास र प्रगतिका निम्ति प्रशस्त सम्भावनामध्ये खेलकुद क्षेत्र महत्वपूर्ण रहेको बताए ।