काठमाडौं । पृथ्वीजयन्तीको दिन शुक्रबार आफूलाई भेट्न शितल निवास आएका प्रमुख तीन नेतालाई राष्ट्रपति रामचन्द्र पौडेलले संघीयता बलियो बनाउन सुझाव दिएका छन् ।
पौडेलले मुलुकका जल्दाबल्दा समस्या समाधान गरेर लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सुदृढ बनाउने काममा मिलेर अघि बढ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली, सत्ताधारी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सुझाव दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताएका छन् ।
पौडेलले मुलुकमा देखिएका महत्वपूर्ण विषयहरू संघीयता कार्यान्वयन, सुशासनका विषयमा नेताहरुको ध्यानाकर्षण गराएको बताइए पनि आज किन उनीहरुबीच भेटवार्ता भयो ? त्यो भने अर्थपूर्ण देखिन्छ । पोखरेलका अनुसार पौडेलले दलहरूले मिलेर ल्याएको संघीयता कार्यान्वयन गर्न प्रदेशलाई अधिकारी दिने गरी तत्काल कानुनहरु पनि मिलेर बनाउनुपर्ने बताएका थिए । साथै, उनले विश्वविद्यालय आदिमा देखिएका समस्या पनि मिलेर समाधान गर्न सुझाव दिएका थिए ।
पछिल्लो समयमा राजा ज्ञानेन्द्र र राजसंस्थाको पक्षमा जनसमर्थन बढ्दै जाँदा गणतन्त्रवादी दल र नेताहरुलाई चुनौति बढ्दै गएको छ ।