काठमाडौं । संसदमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मध्यपहाडी राजमार्ग अभियानका क्रममा जनताका मागसहितको समेज्ञापन पत्र सरकारलाई बुझाएको छ ।
मंगलवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई जनताका मागसहितको ध्यानाकर्षण पत्र बुझाएको हो ।
गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म सम्पन्न गरेको संकल्प यात्रामा स्थानीयहरुले माग गरेका विषय र आफूहरुको अध्ययन र अनुभवले देखाएका कुराहरु समेटेर ७५१ बुँदे मागसहितको ध्यानाकर्षण पत्र बुझाएको एमालेको भनाई छ ।
ध्यानाकर्षण पत्र बुझाएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अभियानको क्रममा अनुभुत गरेका यहाँका सम्भावना र चुनौतिहरु समेटेर ध्यानाकर्षण पत्र बुझाएको बताए । उनले विभिन्न ४६ क्षेत्रसँग सम्बन्धित ७५१ वटा माग बुझाएको बताए ।
ज्ञवालीले उद्योग, उर्जा, मोटरेबल पुल, सिंचाई, भवन निर्माण, संस्कृति संरक्षण, भूमि व्यवस्था, बस्ती विकास, खेलकुद, जातिय विभेद, छुवाछुत र हिंसाको बिरुद्ध, खानेपानी व्यवस्थापन, श्रोत संरक्षण, भूकम्पको पुनःनिर्माण, सुरुङ मार्ग निर्माण, भूक्षय नियन्त्रण, तटबन्ध लगायतका विषयहरु पनि जनताको प्राथमिकतामा रहेको बताए ।
पूर्वाधारका हिसावले मध्यपहाडमा धेरै कामहरु अघि बढेको र ठूलो सकारात्मक परिवर्तन ल्याएको, कृषि, फलफूल र पशुपालनका दृष्टिले उर्वर क्षेत्रका रुपमा मध्यपहाड रहेको बताउँदै उनले जलश्रोतको भण्डार भएको, पर्यटनको सम्भावना बढी भएको, खानी र खनिज रहेको हिसावले मध्यपहाड समृद्धिको सेन्टर बन्नसक्ने बताए ।