काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले फागुन २ गतेदेखि हाल कायम चुक्ता पुँजीको शतप्रतिशत शेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले १ः१ को अनुपातमा १ अर्ब ४५ करोड रुपियाँबराबरको १ करोड ४५ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । प्रतिशेयर अंकित मूल्य १०० रुपियाँ हुने कम्पनीले जनाएको छ ।
शेयर निष्कासनका लागि कम्पनीले पुस २२ गते बुकक्लोज गरेको थियो । पुस १९ गतेसम्म नेप्सेमा कारोबार भएका शेयरधनीले हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयरमा फागुन २२ गतेसम्म आवेदन दिन सकिनेछ ।
हकप्रद निष्कासनमा कम्पनीले केयर एनपी डबल बी इस्युअर रेटिङ पाएको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र नेपाल बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ।