शहीदको सपना साक्षी राखेर एकजुट भई काम गर्ने बेला आइसक्यो : उपप्रमुख डङ्गोल

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले शहीदहरूको सपना साक्षी राखी एकजुट भएर काम गर्ने बेला आइसकेको बताएकी छिन् ।

आज काठमाडौंमा शहीद दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले शहीदले देखेको सपना र त्यसलाई साँचो अर्थमा कार्यान्वयन गर्नका लागि अहिले सबैका बीचमा साझा सङ्कल्प चाहिएको बताइन् । उनले जनताका चाहनाबमोजिम सेवा सुविधा उपलब्ध गराउन स्वतन्त्रता र सँगसँगै समता र समुचित उपभोग गर्न शहीदहरूको सपना साक्षी राखेर एकजुट भएर काम गर्ने बेला आइसकेको बताइन् ।

Advertisement

उनले समृद्धिको मूल आधार भनेको आर्थिक विकास र रोजगारी रहेको भन्दै यसलाई सार्थक बनाउनका लागि काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्र र अधिकार भित्र रहेर काम गरिरहेको स्पष्ट पारिन् । उनले नागरिकको आर्थिक, सामाजिक, सांस्कृतिक, उत्थान र सँगसँगै स्वास्थ्य शिक्षामा पहुँच तथा समावेशी एवं पहुँचयुक्त विकासमा प्रतिबद्ध रहेको बताइन् । उनले महानगरवासीको मुहारमा खुसी र सुखका अनुभूति ल्याउन निरन्तर रूपमा प्रयासरत रहेको जिकिर गरिन् ।

‘शहीदहरुको बलिदानको जगमा टेकेर आज हामी जसरी सबै जनाले शासन, स्वतन्त्रता र स्वाधिनताको उपयोग गरिरहेका छौँ । समृद्धिको मुल आधार भनेको आर्थिक विकास र रोजगारी हो । नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकार तहगत रुपमा नै सरकारहरुलाई नागरिकको मुहारमा खुशी ल्याउने कर्ममा लाग्नुपर्ने आजको यो सभाको पनि उद्देश्य र अर्थ हो । यसैबाट शहीदले देखेका सम्पूर्ण सपनाहरु पूरा हुनेछन्,' उनले भनिन् ।

उपप्रमुख डङ्गोलले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकार तहगत रूपमा नै सरकारहरूलाई नागरिकको मुहारमा खुसी ल्याउने कर्ममा लाग्नुपर्ने आजको उद्देश्य रहेको बताइन् । यसबाट नै शहीदले देखेका सम्पूर्ण सपनाहरू पूरा हुने विश्वास व्यक्त गरिन् ।

Advertisement

Advertisement