आज विश्व क्यान्सर दिवस मनाइँदै

Advertisement

काठमाडौं । आज विभिन्न सचेतनामूलक कार्यक्रम गरी ‘विश्व क्यान्सर दिवस’ मनाइँदैछ । यो दिवस हरेक वर्षको फेबु्रअरी ४ तारिखका दिन मनाइन्छ । ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।

क्यान्सर (अर्बुद) रोग भनेको शरीरको कोश या कोषिकाहरूको समूहको अस्वाभाविक वृद्धि हो । यदि यसलाई समयमै नष्ट गरिएन या हटाइएन भने शरीरभरि नै यो रोग फैलिन्छ र अन्ततः मृत्युको कारण नै बन्न पुग्छ । यस रोगको उपचार शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी अथवा यी तीनै विधि एकसाथ प्रयोग गरेर प्रारम्भिक अवस्थामा अर्बुद रोगको उपचार गर्न सकिन्छ ।

Advertisement

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार सन् २०२२ मा करिब एक करोड व्यक्तिको मृत्यु क्यान्सरका कारण भएको छ । डब्लुएचओका अनुसार क्यान्सरबाट हुने मृत्युमध्ये पनि करिब एकतिहाइ सुर्तिजन्य पदार्थको प्रयोग, मोटोपन, मदिरा सेवन, फलफूल तथा तरकारीको कम सेवन र शारीरिक क्रियाकलापको अभ्यास कमीका कारण हुने गरेको छ ।

यस्तै सबैभन्दा धेरै फोक्सोको क्यान्सर देखिएको छ । स्तन, प्रोस्टेट, कोलोरेक्टम, पेट, कलेजो र मूत्राशयमा अर्बुद रोग बढी हुने गरेका छन् । नेपालमा क्यान्सर रोगका बिरामीको यकिन तथ्याङ्क नभए पनि डब्लुएचओका अनुसार नेपालमा पाठेघरको मुख, स्तन र फोक्सोमा हुने क्यान्सरले धेरै महिलाको मृत्यु हुने गरेको छ । यस्तै पुरुषमा फोक्सो, पेट र कलेजोमा यो रोग बढी हुने गर्छ ।
 

Advertisement

Advertisement