काठमाडौं । नेपाल वायुसेवा निगमले शुक्रबारदेखि लागू हुनेगरी आफ्नो नयाँ उडान कार्यतालिका सार्वजनिक गरेको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको रन वे स्तरउन्नतीका लागि राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द हुनेभएपनि निगमले अन्तर्राष्ट्रियतर्फको आफ्नो उडान तालिका परिवर्तन गरेको हो ।
बिहीबार एक सूचना जारी गर्दै निगमले भोलिदेखि काठमाडौं–नारिता (जापान) उडान राति सवा ९ बजे हुने जानकारी दिएको छ । यसअघि वायुसेवा निगमको काठमाडौं–नारिता उडान समय रातको ११ः५० बजे रहेको थियो । यस्तै यताबाट उड्ने समय फेरिएसँगै उता जापान (नारिता) बाट काठमाडौं उड्ने वायुसेवा निगमको जहाजको कार्यतालिका समेत परिवर्तन भएको छ । यसअघि नारिता–काठमाडौं उडान तालिका विहानको ११ः२५ बजे रहेकोमा अब दुई घण्टाअघि अर्थात् ९ः२५ बजे नै हुने निगमले जनाएको छ ।
यस्तै, काठमाडौं–दोहा (कतार) उडान बेलुका ९ः३० बजे हुनेछ भने दोहा–काठमाडौं उडान बिहान २ बजे हुनेछ । यसअघि काठमाडौं–दोहा उडान तालिका रातको ११ बजे रहेको थियो भने दोहा–काठमाडौंको उडान तालिका दिउँसो ३ः२५ बजे रहेको थियो ।
यसैगरी, निगमले भोलि शुक्रबारदेखि शुरु गर्न लागेको काठमाडौं–भैरहवा–दुबई र दुबई–भैरहवा–काठमाडौंको उडान तालिका समेत सार्वजनिक गरेको छ । जसमा काठमाडौं–भैरहवा उडान बेलुका ९ः३५ बजे हुनेछ भने भैरहवा–दुबई उडान रातको ११ः२५ बजे हुनेछ ।
दुबई–काठमाडौं उडान भने विहान ४ः१० बजे हुँने निगमले जनाएको छ । यसअघि पनि दुबई–काठमाडौं उडान तालिका ४ः१० बजे नै रहेको थियो ।