काठमाडौं । बझाङ स्थित १५.३३ मेगावाट क्षमताको आयोजना रहेको कालंगा हाइड्रो लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीको कायम जारी पूँजी १ अरब ४० करोड मध्ये सर्वसाधारणहरुको लागि ३५ प्रतिशत अर्थात प्रति शेयर रु. १००/- का दरले हुने ४९ करोड बराबरको साधारण शेयर निष्काशन गर्नका लागि रु.३४.९० करोड ज्योति क्यापिटल लिमिटेडबाट तथा रु. १४.१० करोड लक्ष्मी सनराईज क्यापिटल लिमिटेड (एलएस क्यापिटल) बाट शेयर प्रत्याभुति सम्झौता गरी साधारण शेयर प्रत्याभुतिकर्ता नियुक्त गरिएको छ ।
कम्पनीको कालंगा कम्प्लेस, धोबीघाट ३, ललितपुरस्थीत रजिष्र्टड कार्यालयमा साधारण शेयर प्रत्याभुति कार्यको लागि कम्पनीको तर्फवाट संचालक तीर्थराज चटौत तथा प्रत्याभुतिकर्ताहरु ज्योति क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिकास ढकाल र लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठका बीच त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरियो ।
जारी पूँजी रु. १ अर्व ४० करोड रहेको कालंगा हाइडो लिमिटेडका संस्थापक तथा संचालकहरु चिरपरिचित ब्यवसायी रहेका छन् । यस कम्पनीले बझाङ जिल्लामा कालंगागाड जलविद्युत आयोजना (१५.३३ मेवा) को निर्माण सम्पन्न गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडी विद्युत वितरण समेत गरी आएको छ । निकट भविष्यमा आफ्नो आम्दानीबाट ऋण चुक्ता गरी साधारण शेयरधनीहरुलाई उचित प्रतिफल वितरण गर्ने योजना कम्पनीले लिएको छ ।