काठमाडौं । ‘मायाको पहिचान नेपाल’ले नेपाल पर्यटन बोर्डको सहयोगमा ‘रेन्बो पर्यटन अन्तर्राष्ट्रिय सम्मेलन’ गर्ने घोषणा गरेको छ ।
मायाको पहिचानले आउँदो वैशाअ ८ र ९ गते सम्मेलन गर्न लागेको हो । सम्मेलनमा सहभागी हुन चाहनेका लागि दर्ता आवेदन खुल्ला भएको आयोजकले जनाएको छ । इच्छुकले यात्रा टु ह्याप्पिनेस डटकममा नाम दर्ता गर्न सक्ने छन् ।
नेपालमा पहिलो पटक हुन् लागेको सम्मेलनमा अन्तर्राष्ट्रिय पर्यटन व्यवसायीहरू, होटल व्यवसायी, अन्तर्राष्ट्रिय दातृ निकाय, सेलिब्रेटीलाई आमन्त्रण गरिने मायाको पहिचानका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले बताए ।
उनले नेपालले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकारको क्षेत्रमा उल्लेखनीय प्रगति गरिसकेको अवस्थामा यो समुदायको आर्थिक उन्नतिमा सहयोग गर्न, रोजगारीका अवसर सिर्जना गर्न तथा नेपालको पर्यटन उद्योगलाई थप उचाइमा पुर्याउनका सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
रेन्बो पर्यटनका सांस्कृतिक राजदूत समेत रहेका उनले नेपालले यो पर्यटनलाई प्रवर्द्धन गर्दा नेपालको संस्कृति, रहनसहन, भेषभुषा, चाडपर्व, खानपान लगायतका मौलिक कुराहरूलाई संरक्षण गरी यो पर्यटनलाई बढवा गरिने बताए । उनले विश्वमा वर्षको करिब पाँच सय बिलियन डलर भन्दा बढी रेन्बो टुरिजम व्यवसाय हुने गरेकोमा यसबाट नेपालले फाइदा लिनुपर्ने बताए ।
पर्यटन बोर्डका निमित्त कार्यकारी निर्देशक नन्दिनी लाहे थापाले रेन्बो पर्यटन महत्त्वपूर्ण सेगमेन्ट भएको र नेपालले यो पर्यटनलाई सक्दो सहयोग गर्नुपर्ने बताइन । नेपाल पर्यटन बोर्डले यो सम्मेलन सफल पार्न तथा रेन्बो पर्यटनलाई नेपाल भित्राउनका लागि सक्दो सहयोग गर्ने बताइन् ।