निजी क्षेत्र र सरकारको सहकार्यबाट मात्रै राष्ट्रको समृद्धि संभवः व्यवसायी

Advertisement

गण्डकी । मुलुकको अर्थतन्त्रको विकासमा उद्योगी, व्यवसायीको योगदान महत्वपूर्ण रहेकोमा सरोकारवालाले जोड दिएका छन् । 

पोखरा औद्योगिक क्षेत्र उद्योग संघको आज पोखरामा आयोजित २१औँ वार्षिक साधारणसभामा सहभागी सरोकारवालाले निजी क्षेत्र र सरकारको सहकार्यबाट मात्रै राष्ट्रको समृद्धि हासिल गर्न सकिने धारणा राखेका हुन् ।   

Advertisement

पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष बाबुराम पन्तले उद्योगी, व्यवसायी बिना राज्यको अर्थतन्त्र बलियो हुन नसक्ने बताउँदै उद्योगी, व्यवसायी सबल र सक्षम हुनुपर्नेमा जोड दिए । उद्योगी, व्यवसायी पूजनीय व्यक्ति भएको उल्लेख गर्दै उनले विविध घटनाक्रमले उनीहरुलाई असर गरिरहेको पनि समस्याका बीच पनि व्यवसायलाई थेगिरहेको बताए ।   

सम्पत्ति करको विषयलाई लिएर व्यवसायी मर्कामा परेको विषयमा आफू ज्ञात रहेको र यसका सम्बन्धमा पोखरा महानगरपालिका प्रमुखसँग छलफल गरिने बताए । 

गण्डकी प्रदेशका उद्योग सचिव कुमानसिंह गुरुङले उद्योगीका समस्याबारे आफूहरु जानकार रहेको बताउँदै मन्त्रालयबाट ‘रेफ्री’को काम हुनेमा ढुक्क हुन आग्रह गरे । मन्त्रालयले सहजीकरण गर्ने बताउँदै उहाँले प्राप्त सुझावलाई कार्यान्वयनको चरणमा लैजान तत्पर रहेको बताए । 

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले अहिलेको समयमा उद्योग सञ्चालन गर्न सजिलो नभएको बताए ।  नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष रामहीरा पाठकले राज्यका निकायको व्यवहार उद्योगी तथा व्यवसायी अनुकुल नभएको प्रतिक्रिया दिए ।  

संघका अध्यक्ष रुद्रलाल श्रेष्ठको पहलमा २०३१ सालमा स्थापना भएको पोखरा औद्योगिक क्षेत्रमा हाल विभिन्न संघ, संस्था गरेर ८२ वटा छन् । जसमा ७६ वटा उद्योगमध्ये ७४ वटा सञ्चालनमा रहेका र दुई बन्द भएको उनले बताए । उनले औद्योगिक क्षेत्रमा तीन हजार जनाले रोजगारी पाएको समेत उल्लेख गरे । 

सङ्घले क्षेत्रभित्र फोहर व्यवस्थापन, पक्की बाटो निर्माण, क्लिनिक तथा दिवा शिशु स्याहार केन्द्र सञ्चालन गरिएको जनाएको छ । 

कार्यक्रममा उद्योग परिसंघ गण्डकीका अध्यक्ष विनोद शर्मा न्यौपाने, संघका महासचिव फणीन्द्र शर्मालगायतले सरकारको उद्योगमैत्री नीति आवश्यक भएको बताए ।  

सचिवालय भवनको शिलान्यास
साधारणसभा पूर्व संघको सचिवालय भवनको शिलान्यास गरिएको थियो । शिलान्यास औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष बाबुराम पन्तले गर्नुुभयो । सो भवन रु एक करोड ५० लाख लागतमा निर्माण हुने सो अवसरमा जानकारी गराइयो ।

Advertisement

Advertisement