अर्थतन्त्रका असहजता सुधार गर्न सरकार प्रयत्नशील छ : अर्थमन्त्री

Advertisement

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्रमा देखिएका केही असहजता सुधार गर्न सरकार प्रयत्नशील रहेको बताएका छन् । 

आइतबार वीरगन्जमा अर्थ मन्त्रालय र वीरगन्ज उद्योग वाणिज्य सङ्घले संयुक्त रूपमा आयोजना गरेको राजस्व परामर्श तथा बजेट तयारीसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा उद्योगी व्यवसायीको जिज्ञासा तथा प्रश्नको जवाफ दिँदै मन्त्री पुनले आन्तरिक कारणले मात्रै नभई विश्वव्यापी रूपमा देखिएको असहजतालाई सम्बोधन गर्न तथा उद्योग व्यवसायलाई चलायमान बनाउन नीतिगत निर्णय गरेर केही ऐन कानुनलाई परिमार्जित गरी बजेट विनियोजन गर्ने मनस्थितिमा सरकार रहेको बताए । 

Advertisement

नीतिगत निर्णय लिँदा अर्थतन्त्रमा खासै प्रभाव नपर्ने भएकाले औद्योगिक तथा व्यावसायिक क्षेत्रको संरक्षण गर्न कच्चा पदार्थको आयात निर्यातमा सरलता ल्याउन भन्सार महसुल र कर प्रणलीमा केही सुधार वा परिमार्जित गर्न परे सरकार पछि नहट्ने र यसैका कारण अर्थतन्त्रमा देखिएको निराशा चिर्न सरकार आफैँले लगानी गर्ने सोच बनाएको उनको भनाइ थियो । 

अर्थमन्त्री पुनले निजी क्षेत्रलाई प्रवर्धन तथा संरक्षण गर्न निष्पक्ष रूपमा नियामक निकायलाई परिचालन गरिने छ, यसमा कुनै प्रकारको भेदभाव वा चलखेल हुन नदिन सरकार सजग रहेकाले त्रसित हुन कुनै कारण नरहेको तथा तर्साउने काम सरकारले नगर्ने स्पष्ट पारे । 

सरकारको आफ्नै केही बाध्यता, कठिनाइ र प्राविधिक समस्या रहेकाले एकै पटक सोचेको जस्तो काम हुन गाह्रो भए पनि समग्र रूपमा काम गर्ने वातावरण तथा लगानीमैत्री वातावरण बनाउन सरकार प्रयत्नशील रहेको उनले बताए । 

अर्थसचिव राजस्व डा. रामप्रसाद घिमिरेले उद्योगी व्यवसायी र वित्तीय सङ्घ संस्थाबिच देखिएका केही समस्याको समाधान तथा सम्बोधन गर्न काम नेपाल राष्ट्र बैङ्कको समन्वय र सहकार्य भइरहेको जानकारी दिए । उनले भन्सार महसुल दरको माध्यमबाट वा कर प्रणालीमा सुधार गरेर भए पनि स्वदेशी उद्योगलाई प्रोत्साहन तथा टेवा दिने काम अर्थ मन्त्रालयमार्फत भइरहेको दाबी गरे । 

वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल पटवारीको अध्यक्षता भएको अन्तर्क्रिया कार्यक्रममा सङ्घका निवर्तमान अध्यक्षहरू विजय सरावगी, ओमप्रकाश शर्मा, सुबोध गुप्ता प्रदीप केडिया र मधेश प्रदेश उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोक टेमानीले उद्योग व्यवसायमा देखिएका जटिलता र समस्याका बारेमा अर्थमन्त्रीलाई जानकारी गराएका थिए ।  

Advertisement

Advertisement