कर्जा सुरक्षणसम्वन्धी एशियाली सम्मेलन सफलतापूर्वक सम्पन्न, के भन्छन सीईओ घिमिरे ?

Advertisement

काठमाडौं । एसियाली क्रेडिट सपोर्ट एन्ड इनोभेसन कन्फेरेन्स (एसिक)को ३६ औं सम्मेलन राजधानी काठमाडौंमा सम्पन्न भएको छ । 

नवप्रवर्तन, हरित वित्तमार्फत साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्दै दिगो विकास लक्ष्य हासिल गर्ने प्रतिबद्धतासहित सम्मेलन सोमबार समापन गरिएको हो ।

Advertisement

सम्मेलनको दशौं तथा अन्तिम सत्रका सहभागीहरूले ’इनोभेटिभ सोलुसन्सः फाइनान्सिङ फर नेचर’ विषयमा छलफलमा गरेका थिए । 

छलफलमा कृषि विकास बैंकका नायव महाप्रबन्धक बाबुकाजी थापाले हरित वित्त र पर्यावरण संरक्षण आर्थिक लाभको नयाँ एकीकृत वित्तीय ढाँचा भएको बताए । 

नेपालका बैंक तथा वित्तीय संस्थाले कृषि र वनमा आधारित उद्यममा केन्द्रित रही हरित वित्तलाई बढावा दिने उपायमा काम गर्नुपर्ने उनको भनाई थियो ।

थापाले भने, ‘नेपालको कृषि क्षेत्र जलवायु परिवर्तनको उच्च जोखिममा रहेको छ । फलस्वरूप, बैंकहरू वनमा आधारित र कृषिसँग सम्बन्धित उद्यमहरूमा लगानी गर्न हिचकिचाउँछन् ।’ न्यूनतम लगानी र अनुकूल नीतिको अभावका कारण लक्ष्य प्राप्तिमा बाधा पुगेको थापाले बताए । 

अक्सिजनका प्रमुख कार्यकारी अधिकृत सिद्धान्तराज पाण्डेले नेपालमा साना तथा मझौला उद्योगको वृद्धिले नेपाली जनताको जीविकोपार्जनमा परिवर्तन ल्याएको र राष्ट्रिय अर्थतन्त्रको बलियो खम्बा बनेको उल्लेख गरे । 

उनले ब्लेन्डेड फाइनान्स टुल्स लागू गरेर लगानीमा आमूल परिवर्तन ल्याउनुपर्नेमा जोड दिए ।
अन्य क्षेत्रमा लगानी गर्नुभन्दा यस्ता क्षेत्रमा फाइनान्सिङमा जोखिम मोल्न लगानीकर्ता बढी तयार हुने भएकाले ब्लेन्डेड फाइनान्स आवश्यक रहेको पान्डेको तर्क थियो । उनले नेपालमा भायबिलिटी ग्याप फन्डिङ (भीजीएफ)को प्रावधानलाई उचित रुपमा कार्यान्वयन गर्न आवश्यक रहेको बताए ।

विश्व बैंकका निजी क्षेत्रका प्रमुख विशेषज्ञ नताशा कपिलले साना तथा मझौला उद्योगलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिइन् । उर्जा किफायती प्रविधि अपनाउनुपर्नेमा उनको जोड थियो । कपिलले भनिन्, ‘साना तथा मझौला उद्योगहरूले राष्ट्रिय इकोसिस्टममा महत्वपूर्ण भूमिका खेलिरहेका छन् । आधुनिक प्रविधिको प्रयोगले उनीहरूको उत्पादकत्व बढाउन सक्छ ।’

शुक्रबारदेखि राजधानीमा सुरु भएको एसिक सम्मेलनमा १६ ओटा देशका कर्जा तथा निक्षेप सुरक्षण संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो । आर्थिक विकासका लागि नवप्रवर्तन भन्ने नाराका साथ सुरु गरिएको सम्मेलनमा विभिन्न दशओटा विषयमा छलफल भएको थियो । नेपालले ३० बर्षपछि यो सम्मेलन आयोजना गरेको हो ।

सम्मेलन फलदायी भएको निक्षेप तथा कर्जा सुरक्षण कोषका सीईओ रमेश घिमिरेले बताएको छन् । उनले उद्यमशीलता तथा रोजगारी वृद्धिका लागि कर्जा सुरक्षण अत्यावश्यक रहेको विज्ञहरुले बताएको जानकारी दिँदै वक्ताहरुले नवप्रवर्तन र उद्यमशीलता विकासमा कर्जा सुरक्षण महत्वपूर्ण हुने धारणा राखेको बताए । 

घिमिरेले नवप्रवर्तन र उद्यमशीलतामा कर्जा सुरक्षणको आवश्यकतासहित सहभागीले आफ्नो देशको अभ्यास र अनुभव आदानप्रदान गरेको बताउँदै कोरिया कर्जा सुरक्षण कोष (कोडिट) अध्यक्षका नीति सल्लाहकार जुंगिन योनले कोडिट,मलेसियाली क्रेडिट ग्यारेन्टी कर्पोरेसन (सीजीसी)का अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत मोहम्मद इसकलेसाना तथा मझौला उद्योग (एसएमई)मध्ये एक तिहाईलाई सीजीसीले सहयोग गरिरहेको उल्लेख गरेको बताए । 

नेपालमा २७ प्रतिशत जनसंख्यामा बैंकको पहुँच पुग्न बाँकी रहेको पनि वित्तीय पहुँचलाई समावेशी बनाउन पर्याप्त अवसर भएको उनको भनाई छ ।

Advertisement

Advertisement