नेपालको सार्वजनिक ऋण २४ खर्ब पुग्यो, एक नेपालीको थाप्लोमा रु. ८२ हजार २०४ बोझ

Advertisement

काठमाडौं । नेपालको सार्वजनिक ऋण २४ खर्ब रुपियाँ नजिक पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बुधबार सार्वजनिक गरेको बैशाख मसान्तसम्मको तथ्यांकअनुसार कुल सार्वजनिक ऋण २३ खर्ब ९७ अर्ब ४३ करोड १६ लाख रुपियाँ पुगेको हो । 

२०७८ को जनगणनाअनुसारको जनसंख्या (दुई करोड ९१ लाख ६४ हजार ५७८) आधारमा प्रति नेपाली ८२ हजार २०४ रुपियाँ ऋण देखिन्छ । 
तथ्यांकअनुसार चालु आवको १० महिनामा मात्रै सरकारको ऋण ९८ अर्ब ८ करोड रुपियाँ थपिएको छ । चालु आवको सुरुमा अर्थात् गत असार मसान्तसम्म कुल सार्वजनिक ऋण २२ खर्व ९९ अर्ब रुपियाँ रहेको थियो । 

Advertisement

यो १० महिनामा त्यो ९८ अर्व आठ करोड थप भएर २३ खर्व ९७ अर्ब पुगेको कार्यालयको तथ्यांकमा उल्लेख छ । सरकारको कुल ऋण कुल ग्राहस्थ उत्पादन जीडीपीको तुलनामा ४२.०२ प्रतिशत अनुपात हो ।

तथ्यांकअनुसार बैशाखमा मात्रै कुल सार्वजनिक ऋण ११ अर्व ६४ करोड रुपियाँ थपिएको  छ । कुल ऋणमा आन्तरीक ११ खर्ब ८४ अर्ब ४८ करोड रुपियाँ र बाह्य १२ खर्ब १२ अर्ब ९५ करोड १२ लाख रुपियाँ रहेको छ । 

चालु आवमा दुई खर्ब ६४ अर्ब ऋण प्राप्ती
चालु आवको समीक्षा अवधीमा सरकारले दुई खर्ब ६४ अर्ब ६३ करोड ३६ लाख रुपियाँ ऋण प्राप्ती गरेको छ । त्यसमा आन्तरिक स्रोतबाट एक खर्ब ९१ अर्ब रुपियाँ र बाह्य स्रोतबाट ७३ अर्ब ६३ करोड ३६ लाख रुपियाँ ऋण प्राप्ती भएको छ । 

समीक्षा अवधीमै सरकारले एक खर्ब ३५ अर्ब ६२ करोड ३३ लाख रुपियाँ आन्तरिक र ३० अर्ब ९३ करोड रुपियाँ गरेर कुल एक खर्ब ६६ अर्ब ५५ करोड ४४ लाख रुपियाँ ऋण (सावाँ) तिरेको छ । प्राप्ती र भुक्तानीको हिसाव मिलान गर्दा यो आवमा ९८ अर्ब ८ करोड रुपियाँ ऋण थपिएको हो । 

तर, लक्ष्यअनुसार छैन ऋण प्राप्ती
समीक्षा अवधीमा सरकारको ऋण प्राप्ती भने लक्ष्यअनुसार नभएको देखिएको छ । बैदेशिक ऋण प्राप्तीमा भने सरकारको कार्य सम्पादन कम्जोर नै देखिएको छ । 

तथ्यांकअनुसार बैशाखसम्मको ऋण प्राप्ती लक्ष्यको ५८.४५ प्रतिशत मात्रै हो । चालु आवमा सरकारले कुल ४ खर्ब ५२ अर्ब ७५ करोड रुपियाँ ऋण लिने लक्ष्य थियो । त्यसमा दुई खर्ब ४० अर्ब आन्तरिक र दुई खर्ब १२ अर्ब ७५ करोड बाह्य ऋण लिने सरकारी लक्ष्य थियो । तर, बैशाख मसान्तसम्म आउँदा बाह्य ऋण लक्ष्यको ३४.६१ प्रतिशत मात्रै प्राप्ती भएको छ । 

आन्तरिक ऋण प्राप्तीमा भने सन्तोषजनक प्रगति देखिन्छ । बैशाख मसान्तसम्म लक्ष्यको ७९.५८ प्रतिशत आन्तरीक ऋण उठेको कार्यालयको तथ्यांकमा उल्लेख छ । लक्ष्य पुरा गर्न सरकारले बाह्यतर्फ १ खर्ब ३९ अर्ब ११ करोड रुपियाँ र आन्तरीक तर्फ ४९ अर्ब रुपियाँ ऋण प्राप्ती गर्नुपर्छ । असारसम्म पुग्दा आन्तरीकतर्फ लक्ष्यअनुसार नै ऋण उठ्न सक्ने बताइएको छ । तर, बाह्य ऋण प्राप्तीको लक्ष्य पुरा गर्न चुनौती नै हुने अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् । 

सरकारले तिर्यो व्याजसहित दुई खर्ब ३३ अर्ब ऋण
समीक्षा अवधीमा सरकारले एक खर्ब ६६ अर्ब ५५ करोड रुपियाँ ऋण (सावाँ) सँगै ६६ अर्ब ७२ करोड रुपियाँ व्याज पनि तिरेको छ । त्योअनुसार समीक्षा अवधीमा सावाँ र व्याज गरेर सरकारले दुई खर्ब ३३ अर्ब २७  करोड ५० लाख रुपियाँ ऋण तिरेको छ । 
योअनुसार सरकारले प्राप्ती गरेको दुई खर्ब ६४ अर्ब ६३ करोड ३६ लाख रुपियाँ ऋणमा दुई खर्ब ३३ अर्ब २७ करोड ५० लाख रुपियाँ ऋण तिर्नै ठिक्क भएको छ । ऋण प्राप्ती र भुक्तानीमा ३१ अर्ब ३५ करोड ८६ लाख रुपियाँको मात्रै बचत अन्तर देखिएको छ ।

Advertisement

Advertisement