जापान पठाइदिने प्रलोभनमा २ सय भन्दा बढीलाई ठगी गर्ने गिरोह पक्राउ

Advertisement

काठमाडौं । जापान पठाइदिने प्रलोभनमा २ सय भन्दा बढी मानिसहरुसँग ठगी गर्ने दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । 

शुक्रवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गर्दै उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो । उनीहरुले अर्काको नागरिकताको दुरुपयोग गरी अर्काकै नाममा कन्सलटेन्सी दर्ता गरेर ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । 

Advertisement

पक्राउ पर्नेमा वर्ष ३५ का नारायणबहादुर राई भन्ने राजन श्रेष्ठ र पर्वराज पाण्डे भन्ने वर्ष ४६ का ईश्वरी पाण्डे रहेका छन् । श्रेष्ठ रामेछाप लिखु तामाकोशी गाउँपालिका ७ का हुन् भने पाण्डे झापा गौरीदह नगरपालिका १ का रहेको उपत्यका अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए । 

रामेछाप घर भएका राजन श्रेष्ठले नारायणबहादुर राईको नाममा सानिमा बैंक समेतमा खाता खोलेको र खाता खोल्दा केवाइसी फर्ममा आफ्नो फोटो राखेको तर नागरिकता नारायण बहादुर राईको राखेको साथ केवाइसी फर्म र नागरिकतामा रहेको फोटो अलग अलग हुँदा समेत सानिमा बैंकले भेरिफाइ नगरी खाता खोलिदिएको र उक्त खातामा विदेश जान चाहने मानिसहरुबाट रकम जम्मा गर्न लगाई ठगी गरी उक्त रकमहरु निकाली दुरुपयोग गरेको देखिएको बताए । 

उनीहरुले दीपबहादुर तामाङमार्फत १३ जनाबाट ३७ लाख रकम लिएको देखिएको, सुनिलकुमार नेपालीमार्फत २० जनाबाट ३२ लाख  रकम लिएको देखिएको, वैदेशिक रोजगार विभागमा अन्य करिव १०० जनाबाट २ करोड ६८ लाख ठगी गरेको उजुरी परेको बुझिएको बताए ।

त्यस्तै निज राजन श्रेष्ठलाई २०८१–०१–२० गते काठमाडौं कागेश्वरी मनहरा न.पा. वडा नं. ७ बाट र ईश्वरी पाण्डेलाई काठमाडौं कामनपा २९ बाट  नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको बताए । नारायणबहादुर राई भन्ने राजन श्रेष्ठले मेरो खातामा तपाईंहरुले धेरै रकम हालिसक्नुभयो, बैंक ट्रान्जेक्सन धेरै देखिने हुँदा मेरो पार्टनर पर्वराज भन्ने ईश्वरी पाण्डेको खातामा रकम जम्मा गर्न लगाउने गरेको देखिएको बताए । 

वास्तविक नारायणबहादुर राईलाई सम्पर्कमा ल्याई बुझ्दा निजको नागरिकता १५–१६ वर्ष अगाडि हराएको र विगत ३ वर्षदेखि पठाओ चलाई जिविका चलाउने सामान्य व्यक्ति रहेको र निजले हालसम्म कुनै कम्पनी वा कन्सल्टेन्सी दर्ता नगरेको  खुल्न आएको बताए । 

Advertisement

Advertisement