सरकारलाई संसदीय समितिको निर्देशन– चाडपर्वको मौका छोपी यात्रु तथा ग्राहक ठग्नेलाई कारबाही गर्नु

Advertisement

काठमाडौं । राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले नजिकिंदै गरेको दसैंतिहार तथा छठ जस्ता महत्वपूर्ण चाडपर्वलाई ध्यानमा राख्दै सडक सुरक्षा, सवारी तथा हवाई भाडा, खानपान तथा गुणस्तरमा विशेष ध्यान दिन सरकारलाई निर्देशन गरेको छ ।

दसैंमा घर जाने यात्रुहरुको जीउधनको सुरक्षाका लागि सडकको सुव्यवस्था गर्नेदेखि राजमार्गहरुमा सञ्चालित होटल, लज तथा खानपान पसलहरुको अनुगमन नियम गर्न र गुणस्तरीयतामा ध्यान दिन समितिले विशेष आग्रह गरेको हो । 

Advertisement

असोज ४ गते बसेको समितिको बैठकले दसैंतिहार विशेष बजार र यातायातको क्षेत्रलाई केन्द्रमा राख्दै मुख्य ५ पक्षमा ध्यान राख्न सरकारलाई निर्देशन गरेको छ । 


१. सडक यातायातको माध्यमबाट आफ्नो घर जाने र फर्कने यात्रुहरुलाई आफ्नो गन्तव्यमा पुग्ने यातायात साधनको टिकटको उचित व्यवस्थापन गर्ने । पर्याप्त यातायातको व्यवस्था गरी यात्रा गर्न पाउने नागरिक अधिकारलाई सुनिश्चित गर्ने । 

२. चाडपर्वको समयमा यात्रुहरुको सुरक्षा जोखिमलाई ध्यानमा राखी सडक दुर्घटना हुन नदिने उपाय अवलम्बन गर्ने र यात्रुहरुको जीउधनको सुरक्षामा विशेष सतर्कता अपनाउने ।

३.सडक यातायातको माध्यमबाट यात्रा गर्ने यात्रुले सडक छेउछाउका होटल, रेष्टुरेण्टमा खाना–खाजा खाँदा चर्को मूल्य तिर्नुपर्ने, अस्वस्थकर खाना खाने बाध्यता रहेको भन्ने गुनासा रहने गरेका छन् । अतः त्यस्ता होटल रेष्टुरेण्टमा गुणस्तरीय, ताजा र स्वस्थकर खाद्यवस्तु उचित मूल्यमा उपलब्ध गराउन सम्बन्धित निकायबाट अनुगमनको व्यवस्था गर्ने । 

४. चाडपर्वको समयमा दुर्गम क्षेत्रमा यात्रा गर्ने नागरिकले हवाइ टिकटको अभाव झेल्नु परेको अवस्था छ । हवाई सेवा प्रदायक कम्पनीहरुबाट दुर्गम क्षेत्रमा हवाई उडानको सङ्ख्या थप गरी यात्रुहरुलाई गन्तव्यमा पुग्न सहजता कायम गर्ने । साथै, चाडपर्वको मौकामा हवाई भाडा समेत चर्को पर्ने गरेको गुनासो रहेको सन्दर्भमा सो लाई उपयुक्त ढंगले सम्बोधन गर्ने ।

५. चाडपर्वको समयमा खाद्यान्न लगायत उपभोग्य वस्तुको कृतिम अभाव सृजना हुने, मूल्य वृद्धि गर्ने र गुणस्तरहीन वस्तु विक्रि गर्ने प्रवृत्ति रहेको सन्दर्भमा बजार अनुगमनको कार्यलाई प्रभावकारी बनाउने ।

Advertisement

Advertisement