सम्पदा र संस्कृतिलाई पूरानो शैलीमा लैजाँदा व्यापार व्यवसाय झनै बढ्छः मेयर बालेन

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सम्पदाको निर्माण पुरातन शैलीमा नै गर्नुपर्ने बताएका छन् । 

बिहीवार राजधानीको थायमरुस्थित रत्नकेतु महाबिहार पुनःनिर्माण उद्घाटनका क्रममा उनले काठमाडौं उपत्यकामा सम्पदाहरुको पुनः निर्माण गर्दा पूरानो शैलीलाई नै महत्व दिएर बनाउनुपर्ने बताए । 

Advertisement

शाहले पूरानो शैलीमा सम्पदाहरुको पुनः निर्माण गर्दा व्यापार व्यवसाय घट्ने नभई झनै बढेर जाने बताउँदै सभ्यता बढेपछि व्यापार र जीवनशैली बढ्ने बताए । उनले महानगरपाकिला भित्रका सम्पदा पुनःनिर्माणका लागि महानगर जहिल्यै सहयोग गर्न तयार रहेको बताए । 

शाहले भने, ‘महाबिहार बनाउँदा वडाध्यक्षहरुलाई के हुँदो रहेछ भन्ने सबै बजेट एकैपटक माग्दाखेरी आउँदैन की भन्ने जस्तो लाग्दो रहेछ । म सधैँ भन्छु, एकै पटक सबै माग्नुस् । एकै पटक यो पनि बनाएको भए हुन्थ्यो, सिंह, सत्तल पनि एकै पटक बनाएको भए हुन्थ्यो । सत्तल पनि पुरानो शैलीमा बन्नुपर्छ । हाम्रो सम्पदा र संस्कृतिलाई पुरानो शैलीमा लैजाँदा हाम्रो केही व्यापार व्यवसाय घट्ने होइन, झनै बढ्ने हो । हाम्रो सभ्यता बढेपछि व्यापार पनि बढ्छ । जीवनशैली पनि बढ्छ । सबैको इज्जत पनि बढ्छ । त्यसका लागि महानगरपालिका सहयोग गर्न तयार छ ।’

मेयर शाहले सम्पदा पुनःनिर्माणका लागि आवश्यक बजेट एकैपटक माग्न पनि वडा अध्यक्षहरुसँग आग्रह गरे । महानगरपालिकाले सम्पदा पुनःनिर्माणको लागि एकै पटक सबै बजेट मागदा दिँदैन कि भन्ने आशंका नगरी एकैपटक बजेट मागेर सबै पुनःनिर्माणका कामहरु एकैपटकमा सम्पन्न गर्नेगरी काम गर्न आग्रह गरे । 

Advertisement

Advertisement