सदन खुलाउने प्रधानमन्त्रीको प्रयास असफल, गिरिबन्धुको कुरा उठाएकोमा एमालेको आपत्ति

Advertisement

काठमाडौं । सदनको गतिरोध अन्त्य गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको प्रयास असफल  भएको छ । सत्ता पक्ष र प्रतिपक्ष दलहरुसँग आज सोमबार भएको छलफलमा कुनै निष्कर्ष निस्किएन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको अलग अलग र संयुक्त छलफलमा सहमति नजुटेपछि आजै साँझ पुनः छलफल गर्नेगरी छलफल स्थगित भएको छ । छलफलमा सहभागी कांग्रेसका नेताहरुले आजै दिउसो आफ्नो पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गर्ने र साँझ पुनः बैठकमा सहभागी हुनेछन् । 

Advertisement

विशेषगरी सहकारी प्रकरणबारे संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन दलहरु असफल भएका छन् । सत्तापक्ष र विपक्षी अडानमा कायम रहँदा मंगलबार संसदमा प्रस्तुत हुने बजेट के हुने हो ? भन्ने अन्योलता छाएको छ । 

सहकारी प्रकरणको छानविनको कार्यादेशसम्वन्धमा बीचमा केही लचक भएको कांग्रेसले अहिले पूरानै अडानमा फर्किएको छ । कांग्रेसका सहमहामन्त्री जीवन परियारले आफूहरुले सहकारी ठगी प्रकरणको विषयमा पूर्ववत अडान कायम राखेको बताएका छन् । सँगै सत्तारुद नेकपा एमालेका अध्यक्ष केपी ओली मुछिएको गिरिवन्धु टि–इस्टेट प्रकरणमा पनि कांग्रेस आक्रामक बनेको छ । 

गिरिबन्धु टि–इस्टेट प्रकरणमा कांग्रेस नेताहरुले दिएको अभिव्यक्तिले एमालेका नेताहरु रुष्ट भएका हुन् । आजको बालुवाटार बैठकमा एमालेले यो विषयमा आपत्ति जनाउँदै लिखित रुपमा माफी माग्नुपर्ने बताएको थियो ।

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई जोगाएर गिरिबन्धु टि–इस्टेट प्रकरणमा एमाले अध्यक्ष केपी ओलीलाई पनि जोगाउन खोजिएको टिप्पणी गरेका थिए । एमालेलाई शर्माले भनेका थिए, ‘रविलाई साथ दिएर गिरीबन्धुमा रविको साथ लिनु छ ।’

कांग्रेस कार्यकर्ताहरुले गरेको विरोध प्रदर्शनमा पनि ‘सहकारी ठग कहाँ छन् ? गिरिबन्धु जहाँ छन्’ नारा लेखिएका प्लेकार्ड बोकेका थिए । एक खर्बभन्दा बढी भ्रष्टाचार भएको अनुमान गरिएको गिरिवन्धु प्रकरण बाहिर आएपछि ओली झस्किएका छन् । उनको पालामा सुनियोजितरुपमा कानुन बनाएर झापाको गिरिबन्धु टि–इस्टेटको जग्गा सट्टापट्टा गर्ने बाटो खोलिएको थियो । यसमा एमालेका नेता, ठूला व्यापारी, जग्गा दलालहरुको संलग्नता देखिएको छ ।  

आजको बैठकमा एमाले नेताहरुले कांग्रेसले अनावश्यक आरोप लगाएको भन्दै माफी माग्नुपर्ने बताएका थिए । एमाले उपाध्यक्ष विष्णु पौडेलले भने, ‘कांग्रेसले यी आरोपप्रति लिखित रुपमा क्षमा माग्नुपर्दछ । सार्वजनिक रुपमा माफी माग्नुपर्दछ ।’

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहालण्, कांग्रेसबाट पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, ज्ञानेन्द्र कार्की र जीवन परियार, एमालेबाट उपाध्यक्ष विष्णु पौडेल, कानुनमन्त्री पदम गिरी, महेश बर्तौला, माओवादीबाट अर्थमन्त्री वर्षमान पुन, हितराज पाण्डे, रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछाने, स्वर्णिम वाग्ले, सन्तोष परियार लगायत सहभागी थिए ।

Advertisement

Advertisement