काठमाडौं । गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ । अधिवक्ता अनुपम भट्टराईले सोमबार सो रिट दायर गरेका हुन् ।
महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री रवि लामिछानेलाई विपक्षी बनाएर रिट दायर गरेका उनले मुद्दा प्रभावित बनाउनसक्ने भन्दै गृहमन्त्रीलाई पदमुक्त गर्न माग गरेका हुन् ।
महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्रीमाथि कुनै पनि मुद्दामा कुनै पनि अदालतमा अभियोजन नभएको भन्दै पत्र लेखेपछि भट्टराईले सो पत्र खारेजी गर्न मागसहित रिट दायर गरेका थिए ।
अनुसन्धान प्रक्रियामा गृहमन्त्रीले अनुचित प्रभाव पार्नसक्ने तर्क गर्दै अनुसन्धान प्रक्रिया चलिरहेका बेला उनलाई निलम्बन गर्न माग गरिएको हो । रिटमा भनिएको छ, ‘विपक्षी गृहमन्त्रीले धारण गरेको जिम्मेवारीले अनुसन्धान प्रक्रियामा अनुचित प्रभाव र प्रतिकुल असर पार्ने र प्राकृतिक न्यायको सिद्धान्त विपरीत समेत रहने स्पष्ट भएको हुँदा अनुसन्धान प्रक्रिया चलिरहेको अवस्थामा गृहमन्त्रीको पदबाट निजलाई निलम्बन गर्नु भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको नाउँमा अन्तरिम प्रकृतिको उपयुक्त आदेश जारी गरिपाउँ ।’
यो रिटमा जेठ १६ गते पेशी तोकिएको छ ।